
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको ‘(दोस्रो संशोधन) विधेयक २०७७’ लाई प्रमाणिकरण गर्नुभएको छ । विहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप राख्न गरिएको संविधान संशोधन विधेयक प्रमाणिकरण गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको एक विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको हो । ‘आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ’, प्रवक्त दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
योसँगै नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप कायम भएको छ । विहीबार मात्र नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित गरेको थियो । त्यसपछि राष्ट्रिय सभाले उक्त विधेयक पारित भएको सूचना प्रतिनिधिसभा गराएको थियो ।
प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर प्रतिनिधिसभाले विधेयक सभामुखबाट प्रमाणित गराएर प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।
उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो । सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।