पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।

अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ७८७ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६।०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूलय बढाइएको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जानकारी दिएको छ ।

चीन नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सधैँ सम्मान गर्दछ:चिनियाँ राजदूत होउ याङ्छी

काठमाडौं- नेपालको सार्भभौमिकता र भौगोलिक अखण्डताको पक्षमा चीन अडिग र स्पष्ट रहेको नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले बताएकी छन्।

राजदूत होउले गोरखापत्रसँग गरेको कुराकानीमा हालै जारी भएको राजनीतिक तथा प्रशासनिक नक्सा नेपाल सरकारले आफ्नो सार्भभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतका आधारमा चालेको कदम भएको बताएकी छिन्।

‘नेपालका सबै राजनीतिक दलहरूले हालसालै जारी गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सामा सहमति गरेका छन् । यो नेपाल सरकारले आफ्नो सार्भभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतका आधारमा चालेको कदम हो । नेपालले चीनको इसारामा यस्तो कदम चालेको भन्ने कुुरा आधारहीन तथा स्वार्थप्रेरित आरोपमा सत्यता छैन यस्तो आरोप एक स्वतन्त्र देश नेपाल र नेपाली जनताको स्वाभिमानप्रति अपमानमात्र होइन, नेपाल र चीनबीचको सम्बन्धमाथिको प्रहार पनि हो यो’, यान्छीले गोरखापत्रसँग भनेकी छिन्।

भारतले आफ्नो दावी गरेको लिपियाधुरा, कालापानी र लिपुलेकलाई समेट्दै नेपालले केही समय अघि नक्सा सार्वजनिक गरेको थियो। संविधान संशोधनमार्फत उक्त नक्सालाई निसान छापमा पनि समेटिएको छ। नेपालको यस कदमलाई भारतीय अधिकारी र सञ्चारमाध्यमले चीनको इसारामा चालेको कदम बताउँदै आएका छन्।

यान्छीले भनेकी छिन्, ‘पहिलो कुरा म स्पष्टसँग भन्न चाहन्छु कि चीन नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सधैँ सम्मान गर्दछ । कालापानीको विषय नेपाल र भारतबीचको हो । हामीलाई विश्वास छ यो विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्द्रपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउनेछन् । यसबारे चीनको अडानमा कुनै परिवर्तन भएको छैन । दोस्रो कुरा, मलाई थाहा छ, केही गैरजिम्मेवार मिडिया तथा व्यक्ति, समूह चीनको वास्तविकता के हो र झुट के हो भन्नेबारे सधैँ अलमल पारेर जनमत भड्काउन खोजिरहन्छन् ।’

उनले नेपालसँगको सम्बन्ध वर्षौँदेखि सुमधुर र विवादरहित रहेको बताएकी छन्। भन्छिन्, ‘म यही भन्न चाहन्छु कि ‘अकबरी सुनलाई कसी लगाउनुपर्दैन’ । परिवर्तित र पटक–पटकको परीक्षणबाट नेपाल र चीनबीचको सम्बन्ध अकबरी सुन भन्ने स्पष्ट भएको छ । जस्तोसुकै कठिन अवस्थामा पनि चीन नेपालको पक्षमा दह्रोसँग उभिनेछ । हामी विश्वास गर्छौं कि सरकारको प्रयत्न तथा दुई देशबीचको सहकार्यबाट हामी निश्चित रूपमा यो महामारीविरुद्धको सङ्घर्ष जित्नेछौँ । म त्यो सुनौलो दिनको प्रतीक्षामा छु ।’

राजदुत यान्छीले बलियो नेतृत्व तथा प्रभावकारी प्रशासनिक संयन्त्रका कारण कोरोना महामारीको पहिलो केस चीनमा देखिएपनि त्यहाँ कम संक्रमण र मानवीय क्षति भएको बताएकी छिन्।

‘हामीसँग यस्ता महामारीविरुद्ध एकताबद्ध भएर लडेका थुप्रै अनुभव छन् । म केही अनुभव राख्न चाहन्छु । पहिलो, हामीसँग बलियो नेतृत्व तथा प्रभावकारी प्रशासनिक संयन्त्र छ । राष्ट्रपति सी चिनफिङको निर्देशन तथा नेतृत्वमा हामीले सरकारका सम्पूर्ण शक्ति तथा स्रोतहरू संयुक्त रूपमा परिचालन गर्दै सङ्घर्षमा उत्रियौँ । हामीले देशव्यापी रूपमा नियन्त्रणका कडा उपायहरू अपनायौँ भने महामारीको केन्द्रबिन्दु बनेको वुहानलाई सहयोग गर्नका लागि विभिन्न स्थानबाट स्वास्थ्य आर्थिक संयन्त्रहरू केन्द्रित गर्‍यौँ । महामारीको अवस्था हेरेर विभिन्न क्षेत्रमा विभिन्न तहका जोखिमको वर्गीकरण गर्नुका साथै त्यसको नियन्त्रणका लागि क्षेत्रगत रूपमा सार्वजनिक गतिविधि कम गर्ने छुट्टाछुट्टै उपायाहरू अपनायौँ ’, यान्छी भन्छिन्, ‘ दोस्रो, नियन्त्रणका वैज्ञानिक विधिहरू अपनायौँ । हामीले अग्रिम पहिचान, अग्रिम रिपोर्टिङ, अग्रिम आइसोलेसन र अग्रिम उपचारको नीति अपनायौँ । सङ्क्रमितहरूसँग सम्पर्कमा आएकाहरूको तत्काल पहिचान तथा परीक्षण हुनुपर्नेको तत्काल परीक्षण, अस्पताल भर्ना हुनुपर्नेलाई तत्काल अस्पताल भर्ना, आइसोलेसनमा राख्नुपर्नेलाई तत्काल आइसोलेसनमा राख्यौँ ।’

उनले कोरोना भाइरसको महामारीलाई जोडेर केही पश्चिमा शक्तिहरुले चीनको बदनाम गर्ने दुष्प्रयास गरेको पनि बताएकी छिन्। चीन एक्लै कोरोना महामारीसँग लडिरहेका बेला पनि विश्वलाई समयमै सचेत गराएको र अत्यावश्यक सामग्री पठाएको उनले स्मरण गर्न भनेकी छिन्।

‘हामीलाई ठूलो मात्रामा स्वास्थ्य सामग्रीहरूको आवश्यकता परिरहेको बेला पनि एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई), न्युल्कि एसिड टेस्ट कीट र अन्य सहयोगहरू १२० देश तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहयोग गर्‍यौँ ’, अन्तर्वार्तामा यान्छीले भनेकी छिन्, ‘ दुर्भाग्य, केही पश्चिमा देश तथा राजनीतिज्ञहरूले यो महामारीलाई राजनीतिकरण गरेर आफ्नो व्यक्तिगत तथा राष्ट्रिय स्वार्थका लागि चीनविरुद्ध अफवाह फैलाउने साधनका रूपमा प्रयोग गरे । यो उनीहरूले आफ्नो कमजोरी ढाकछोप गरेर भोट सङ्कलन गर्न चालेको एक गैरजिम्मेवार कदमबाहेक केही हैन । यस्तो प्रकारको ‘इन्फोडेमिक’ काम चीनले महामारीविरुद्ध लड्न चिनियाँ जनताको योगदान तथा चीनको अन्तर्राष्ट्रिय समुदायसँगको गरेको सक्रिय सहकार्यको घोर अपमान हो ।’

२४ घण्टामा देशभर उपत्यकामा १४ सहित ३१६ सङ्क्रमित थप, १३ हजार ५६४ पुग्याे

कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या मंगलबार १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । याेसँगै एकहजार ६५७ महिला र ११ हजार ९०७ पुगेकाे छ ।

डिस्चार्ज

देशभर मंगलबार थप ६० डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीन हजार १९८ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर ९ महिला र पुरूष ५१ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म २७७ महिला र २९१७ पुरूष निकाे भएका छन् । यस्तै,  क्वारेन्टाइनमा ५३ हजार ७० र आइसोलेसनमा दशहजार ३४१ जना रहेका छन् ।

उपत्यकामा १४ सङ्क्रमित
काठमाडौँ जिल्लामा ७ पुरुष र महिला ५ सहित १२ जना, ललितपुरमा एक पुरूष र भक्तपुरमा एक महिलालाई कोरोना भाइरस पुष्टि भएको छ ।  यसरी उपत्यकामा मगंलबार अहिलेसम्मकै बढी सङ्क्रमित थपिएका छन् ।

काेराेना उपचारमा नेपाल

नेपालमा कोरोना भाइरस रोकथामको लागि भएका प्रयास विश्वको लागि उदाहरणीय भएको छ । पत्रकार सम्मेलनमा प्रा.डा. गौतमले नेपालमा कोरोना भाइरसबाट हुने मृत्युदर अत्यन्त कम भएको बताउनुभयो । अमेरिका, बेलायत, जापान, चीनलगायतको देशको तुलनामा अत्यन्त कम रहेको जानकारी दिनुभयो । 

यस्तै, उहाँका अनुसार दक्षिण एसियाली मुलकहरुमा प्रति दशलाखमा भएकाे मृत्युदर बंगलादेश, भारत, माल्दिभ्स, अफगानिस्तान र पाकिस्तानको तुलनामा कम रहेको छ ।

पीसीआर परीक्षणमा नेपालमा दक्षिण एसियामा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, भारतलगायतका देशहरु भन्दा धेरै अगाडि रहेकाे उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा चारहजार ७११ वटा पीसीआर परीक्षण भएको छ ।

क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

कैलाली । १४ जेठमा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएका रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ। भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको थियो ।

वडा नं ५ मा स्थित कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन राखेर उनलाई घर पठाइएको थियो । घर पुगेको ५ दिनपछि उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । असार ९ गते आरडीटी परीक्षण गरी एक साता घरमै सुरक्षित बस्न भन्दै क्वारेन्टिनबाट पठाइएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । ‘त्योबेला आरडीटी गर्दा नेगेटिभ आएपछि उहाँलाई पठाइएको हो’ उनले भने, ‘तर, घर गएको ५ दिनपछि उहाँको मृत्यु भयो ।’

जिल्ला स्वास्थ्य कार्यालयले मधुमेहका बिरामी भई नियमित औषधि सेवन गरिरहेका व्यक्तिको मधुमेहकै कारण मृत्यु भएको जनाएको थियो । तर मृत्यु भएको दुई दिनपछि मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘मृत्यु भएकै भोलिपल्ट स्वाब संकलन गरेर पठाएका थियौं,’ जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले भने, ‘आज कोरोना पोजेटिभ रिर्पोट आयो ।’

असार १३ गते राति एक्कासी श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पुर्‍याइएको र उपचारकै क्रममा १४ गते मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

अछामको बयालपाटा अस्पतालमा मृत्यु भएपछि उनको शव रामारोशन गाउँपालिका लगिएको थियो । मृतकसँगै रहेका दुईजनाले खोला नजिक उनको शव गाडेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् ।

विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि,३० वर्षीय दुलाहाको मृत्यु

बिहारको राजधानी पटनामा सोमबार एकै पटक ९५ जनामा कोरोना संक्रमण पुष्टि भयो। यसको मुख्य कारण थियो, विवाह समारोह।

पटनाभन्दा करिब ५० किलोमिटर टाढाको पालीगञ्ज इलाकामा १५ जुनमा आयोजित एक विवाह समारोहका सहभागी ९५ पाहुनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये सोमबार ८० जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। संक्रमितमध्ये ३० वर्षीय दुलाहाको मृत्यु भएको छ। सफ्टवेयर इन्जिनियरसमेत रहेका दुलाहा विवाहका लागि १२ मेमा पटनाबाट आफ्नो गाउँ डिहपाली पुगेका थिए।

सोही यात्राका क्रममा उनमा कोभिड–१९को लक्षण पाइएको थियो। तर परिवारले उनलाई क्वारेन्टाइनमा राख्नुको साटो विवाह गराए। विवाहको दुई दिनपछि उनको अवस्था बिग्रँदै गयो र पटनाको एम्स अस्पतालमा लैजादै गर्दा मृुत्यु भयो।

दुलाहाको निधनपछि परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो। यो घटनापछि जिल्ला प्रशासनले विवाहका सबै सहभागीको कोरोना परीक्षण गर्ने निर्णय ग¥यो । त्यसक्रममा पहिलो दिन १५ जनाको पोजेटिभ रिपोर्ट आयो भने दोस्रो दिन सोमबार ८० जनाको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म बेहुलीमा भने संक्रमण देखिएको छैन। प्रशासनले घटनामा कोभिड-१९ को संक्रमण रोक्न लागू गरिएको नियमको धज्जी उडाइएको टिप्पणी गरेको छ। प्रशासनले कुनै पनि विवाह समारोहमा ५० जनाभन्दा माथि उपस्थित हुन रोक लगाएको थियो । तर यो विवाहमा गाउँका सयौ मानिस सहभागी भएको पाइएको थियो।

यसअघि राजस्थानको भीलवाडामा भएको एक विवाह समारोहमा २५० मानिस बोलाइएको थियो। विवाहमा गएका १५ जनामा संक्रमण देखियो भने बेहुलाका हजुरबुबाको मृत्यु भयो। बेहुला र उनका बाबुसमेत गरी १५ जनालाई अस्पताल भर्ना गरियो । राजस्थान सरकारले विवाहमा गएका १२७ जनालाई क्वारेन्टाइनमा राख्यो। क्वारेन्टाइनमा बसेकाहरुको क्षतिपूर्ति बेहुलाका बाबुलाई तिर्न लगाइयो।

चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला,महामारीको रूप लिन सक्ने

कोरोना भाइरसले विश्व पीडित र आतंकित भइरहेका बेला यसको उद्गम मानिने चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन्। यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

फ्लु गराउने यो भाइरस सुँगुरमा पाइएको हो। जुन फ्लू मानिसमा सरेपछि महामारीका रूपमा फैलिन सक्ने देखिएको वैज्ञानिकले चेतावनी दिएका छन्। प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिकले भनेका छन्,‘सँगुरमा भाइरस नियन्त्रण तथा सुँगुरपालनमा संलग्न श्रमिकको निगरानी तत्काल थाल्न जरुरी छ।’

‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुण पाइएका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी छ।’ बीबीसीका अनुसार यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन्।

यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्र रूपमा फैलिन सक्नेलगायतका सबै खालका सम्भावना देखिएको वैज्ञानिकले बताएका छन्। यो नयाँ भाइरस भएकाले यसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भन्दै सचेत रहन वैज्ञानिकले चेतावनी दिएका छन्।

नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम

काठमाडौं – यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिए । “त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उनले भने । कक्षा १ मा पनि यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्ने तयारी छ । त्यसअनुसार अब कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्नुपर्नेछ । नयाँ पाठ्यक्रमअनुुसार अब नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्नेछ ।

यसअघि कक्षा ११ मा नेपाली र अङ्ग्रेजी गरी दुई विषय मात्रै अनिवार्य थियो । ऐच्छिक विषय भने तीनवटा नै रहनेछन् । विद्यार्थीले चाहेमा एक सय पूर्णाङ्कको थप एक विषयको परीक्षासमेत दिन पाउनेछन् ।
गोरखापत्र दैनिक

महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी:डब्ल्यूएचओ

संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या १ करोड पार भएको छ । ६ महिना अघि मात्रै फैलिएको यो संक्रमणका कारण अहिलेसम्म पाँच लाखको मृत्यु भइसकेको छ ।

थुप्रै देशमा त स्वास्थ्य व्यवस्था पूर्ण रुपमा धरासयी भइसकेको छ । यो महामारीका कारण विश्वव्यापी अर्थव्यवस्था नराम्रो अवस्थाबाट गुज्रिरहेको छ । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यो महामारीको सबैभन्दा खराब स्वरुप देखिन बाँकी नै भएको मान्यता राखेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहम गेब्रियाससले यदि संसारभरीका सरकारले सही नीतिको पालना नगरेको खण्डमा भाइरसले थप व्यक्तिलाई संक्रमित गर्न सक्ने धारणा व्यक्त गरेका छन् ।

सोमबार एक भचुअल ब्रिफिङमा टेड्रोसले भने, ‘हामी सबै यो चाँडै नै उन्मुलन होस् भन्ने चाहन्छौं । हामी सबै आफ्नो दैनिक काम कारवाहीमा फिर्ता हुन चाहन्छौं तर तितो सत्य यो हो कि हामी अहिले पनि यो महामारी उन्मुलन हुने यात्रामा निकै टाढा छौं ।’

‘यद्यपि, केही देशले प्रगति गरेका छन् तर विश्वव्यापी स्तरमा महामारी फैलने गती तीब्र भइरहेको छ । संसारभरी १ करोड संक्रमित र पाँच लाख व्यक्तिको मृत्युपछि पनि विश्व स्वास्थ्य संगठनले भाइरस फैलन पहिचान गरेका समस्या जस्तै राष्ट्रिय एकतामा कमी, विश्वव्यापी एकजुटतामा कमी, विभाजित देशलगायतलाई सुल्झाउन नसकेको खण्डमा खराब समय त अझै आउनै बाँकी छ ।’

टेड्रोसले सरकारलाई जर्मनी, दक्षिण कोरिया र जापानले अपनाएको बाटोमा हिँड्न आग्रह गरेका छन् । यी देशले लगातार ट्रेसिङ र टेस्टिङको नीति अपनाएको छ ।

स्रोतः बीबीसी

नेपालमा थप ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,थप एकको मृत्यु

बितेको २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ६ जनासहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमितमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

कोरोना संक्रमणबाट थप एकको मृत्यु
यसैगरी कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो ।

ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । आइसीयुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । १३ गते बेलुकी नै उनको निधन भएको थियो । उनको हिजोमात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो । तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिनन अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।