गोपाल ढकाल छन्दे निर्देशित “टेन्सन साफ” शुक्रबारबाट छन्दे युट्युब च्यानलबाट सार्वजनिक(भिडियो)

काठमाडौं– हास्य श्रृंखला टेन्सन साफ आज शुक्रबारदेखि युट्युबको छन्दे च्यानलबाट प्रदर्शन भएको छ ।

लामो समयदेखि अभिनयमा सक्रिय कलाकार गोपाल ढकाल छन्देले टेन्सन साफ शीर्षकको टेलिश्रृंखलामार्फत आफ्नो युट्युब च्यालन छन्देबाट निरन्तरता दिने भएका छन् ।

हर्कमान वाइबा (रिदम), रबिन भुषाल(कडा), राजेश महर्जन, सुर्यकला आचार्यको निर्माण संयोजनमा तयार भएको ‘टेन्सन साफ’ श्रृंखलाको लेखन तथा निर्देशन पनि छन्देले नै गरेका छन् ।

एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट प्रा.लि को ब्यानरमा निर्मित टेन्सन साफमा श्याम राई, उद्धव प्रसाद भट्टराई, गोपाल ढकाल(छन्दे), गीता नेपाल, रोहित कार्की, प्रमिला राई, हर्कमान वाईबा(रिदम), रबिन भुषाल(कडा), आशिका अधिकारी, उमेश पाण्डे (उमिशा),शोभित वाईबा, मिठु माझी, राजेश महर्जन आदिले अभिनय गरेका छन् ।

गोपाल ढकाल छन्देको शीर्ष गीत लेखन, बैकुण्ठ अधिकारीको एरेन्ज तथा संगीतमा कृष्ण भट्टरार्ई, उद्धव प्रसाद भट्टराई तथा गीता नेपालले स्वर दिएका छन् भने पाश्र्व संगीत धनु ग्याङ्ग्मीको रहेको छ ।

नेपाली जनजीवन, सामाजिक, पारिवारिक, राजनीतिक तथा आर्थिक सम्बन्धका विकृतिजन्य हासपरिहासको चित्रण गर्नु, हाँस्यव्यङ्ग्यका माध्यमबाट समाजको साङ्गोपाङ्गो चित्रण गर्नु, प्राकृतिक तथा मानव सिर्जित समस्याबाट आक्रान्त आम नागरिकका पीडामा हाँस्यको मलम लगाउनु र स्थापित कलाकारका माध्यमबाट नवोदित कलाकारलाई मन्च सिर्जना गर्नु यो श्रृंखलाको मूल उद्देश्य रहेको छ ।

https://www.youtube.com/watch?v=SjeiI0iXtZM&feature=youtu.be&fbclid=IwAR1TrV3DjA0e_92GSCLhNzsNrbGrv4dmPjnkPLJD7sDSmg9B1pUXdyec3b0

आइतबारदेखि बारामा निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि लागू हुने गरी बढी भिडभाड हुने स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको छ ।’

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा संलगन रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द गर्ने निर्णय भएको उनले बताए ।

निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु९विवाह, व्रतवन्ध, भोजभतेर० गर्न प्रतिवन्ध लगाइएको छ ।
यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवात जावत पूर्णमा रुपमा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।

उद्योगी व्यवसायीहरुले कलकारखाना सञ्चालन गर्दा कामदारलाई आफ्नो उद्योग, कलकारखाना परिसर भित्रको होस्टल तथा क्वाटरमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले औषधि पसल २४ सै घण्टा खुल्ला रहने र खाधान्न, ग्यास, इन्धन, दूध, डेरी पसलहरु, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा बिक्री वितरण नगरी साइकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा विहान १० बजेदेखि मात्र बिक्री गर्न पाउने निर्णय गरेको छ ।

भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना

एजेन्सी । भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छिन् । बिहीबार साँझ ७ बजे गान्धीलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ ।

अस्पताल बोर्डका अध्यक्ष डा.डिएस राणाकाअनुसार गान्धीलाई नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल भर्ना गरिएको हो । राणाले गान्धीको अवस्था अहिले सामान्य रहेको बताए । तर गान्धीलाई पेटको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको केही भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यसअघि फब्रुअरी २, २०२० मा पनि गान्धी पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । त्यसबेला उनलाई भेट्न थुप्रै नेताहरु पुगेका थिए । ७३ वर्षीया गान्धी केही वर्षयता स्वास्थ्य समस्याहरुसँग संघर्ष गर्दै आएकी छिन् ।

मेलम्चीको पानी मङ्सिरमा आउन सक्ने

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका प्रवेश द्वारको संरचना र जडानमा पुनर्विचार गरिने भएको छ ।

यही असार ३० गते एक जनाको मृत्यु, एक बेपत्ता र दुई जना घाइते हुने गरी भएको घटनाको प्राविधिक अध्ययन समितिले डिजाइनिङ र जडानमा पुनः समीक्षा गर्नुपर्ने सुझाव दिएको छ । यसका कारण मेलम्ची खानेपानी आयोजनाले पानी आपूर्ति दिने समय कम्तीमा थप दुई महिना ढिला हुने देखिएको छ । पूर्वनिर्धारित समयअनुसार आगामी असोजमा आउने भनिएको मेलम्ची अब कम्तीमा दुई महिना पर धकेलिएको छ ।

समितिले अकस्मात् खुलेको गेटसँगै थप दुईवटा गेटको समीक्षा गर्न सुझाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिए ।

उनका अनुसार गेटको ‘नटबोल्ट फेल’ भएर खुल्यो । त्यस कारण डिजाइन र जडानको प्राविधिक पक्षलाई समीक्षा गर्नुपर्ने भएको छ ।

न्यायधीशलाई कोरोना संक्रमण पछि जनकपुर उच्च अदालत र जिल्ला अदालत आजदेखि बन्द

कोरोना संक्रमण बढेको भन्दै जनकपुर उच्च अदालत र जिल्ला अदालत धनुषा निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु आजदेखि बन्द हुने भएको छ।

उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला सरकारी वकिलको कार्यालय एवं बार एसोशिएसनको छलफलबाट यस्तो निर्णय लिएको हो।

साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीहरुको स्वाब प्रादेशिक प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा एकजना न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको थियो।

कुवेत प्रवेशमा नेपालीमाथि प्रतिबन्ध

कुवेतले आफ्नो देशमा नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ ।

कुवेतको सरकारले पछिल्लो करिब साढे तीन महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमान सेवालाई एक अगस्टदेखि पुनः सुरु गर्ने निर्णय लिएको छ । बिहिबार बिहान कुवैत सरकारले अगस्ट १ तारिखदेखि नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का, इरान र फिलिपिन्सका नागरिक बाहेक अन्य देशमा बस्ने कुवेती नागरिक र प्रवासीको आवतजावतमा अनुमती दिएको छ ।

वीरगन्ज महानगरपलिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण

वीरगन्ज महानगरपलिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

‘तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु। मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्नेछु,’ मेयर सरावगीले फेसबुकमा लेखेका छन्।

उनका राजनीतिक सल्लाहकार मुकेश दुवेदीका अनुसार, उनी चार दिनअघि काठमाडौं आएका थिए। बिहीबार बिहान उनको संक्रमण पुष्टि भएको हो। अहिले उहाँको अवस्था सामान्य छ।’

सरावगीले आफ्नो फेसबुकमा वीरगन्जमा समुदाय स्तरमा कोरोना फैलिएको समेत बताएका छन्। उनले वीरगन्जमा संक्रमण नियन्त्रण गर्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्।

उनले वीरगन्जमा संक्रमण रोक्न स्थानीय स्तरबाट मात्र सम्भव नरहेको भन्दै प्रदेश सरेकारले ठोस कदम लिनुपर्ने बताएका छन्।

साल्ट ट्रेडिङ्ग र खाद्य व्यापारलाई ३० हजार मेट्रिक टन चिनी भन्सार छुटमा ल्याउन अनुमति

मन्त्रिपरिषद् बैठकले ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा ल्याउन दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को १२ गते बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन्।

सरकारले खाद्य व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनका लागि उक्त अनुमति प्रदान गरेको हो। नेपालमा हुने उत्पादनले अपुग हुने चिनी हरेक वर्ष आयात हुने गर्छ।

चाडबाडको समयमा मूल्य उच्च हुने भएकोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पुर्याएको थियो।

घरभाडा तिर्न नसक्नेलाई घरबाट ननिकाल्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले लकडाउन अवधिमा घरभाडा तिर्न नसक्नेलाई दुर्व्यवहार नगर्न र घरबाट ननिकाल्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीशहरु तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले घरभाडा तिर्न नसकेका कारण घरबाट निकाल्ने, निक्लन बाध्य पारिनेजस्ता दुर्व्यवहार नगर्न अन्तरिम आदेश दिएको हो । यसरी दुर्व्यवहार भएमा स्थानीय वडा कार्यालयलय सुपरीवेक्षण गर्न पनि अदालतले आदेश दिएको छ ।

नेपाल पिछडावर्ग महासंघका अध्यक्ष गजेन्द्र ठाकुरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सातवटा प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले लकडाउनको समयममा कोठा बहाल नतिर्ने रिट निवेदकको मागमा भने अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

घरभाडा पूर्ण रुपमा लकडाउन खुलेर परिस्थिति सहज भएपछि तिर्न आदेश भएको स्रोतको भनाइ छ । रिट निवेदकले घरधनीहरुले बहाल तिरेको रसिद नदिएको तर वडा कार्यालयले राहत दिनका लागि यस्तो रसिद माग गरेको भन्दै भरभाडा तिरेको रसिद दिन पनि आदेश माग गरेका थिए । सर्वोच्चले भाडामा बस्नेले मागेमा कर तिरेको रसिद दिन पनि आदेश दिएको छ ।