कालोबजारी गर्ने २६ पसललाई कारबाही गर्न सिफारिस

काठमाडौं महानगरपालिकाले २६ वटा पसलले कालोबजारी गरेको भन्दै कारबाही गर्न सिफारिस गरेको छ। महानगरपालिकाले विगत २२ दिनमा गरेको बजार अनुगमनमा कालोबजारी गर्ने २६ वटा पसल भेटिएकाले ती पसललाई कारबाही गर्न सिफारिस गरेको उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन्।

कोरोना महामारीको मौका छोपेर व्यापारीले उपभोक्ता ठग्ने गरेको गुनासो आएपछि अनुगमन गरेको महानगरले उपत्यका भित्रका विभिन्न २२ वटा पसल सञ्चालकलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपोभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो।

महानगरपालिकाले काठमाडौंको मुख्य तरकारी तथा फलफूल बजार क्षेत्र कालिमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरमा अनुगमन गरेको थियो। साथै, दाल चामललगायतका ठूला खाद्यान्नका गोदाममा समेत अनुगमन गरेको थियो।

यसरी गरिएको अनुगमनको क्रममा महानगरपालिकाले १ सय २९ मध्ये २६ वटा उपभोक्ता ठगी गर्ने पसललाई १२ लाख ८७ हजार रुपैयाँ आर्थिक जरिवाना गराई कसुरको आधारमा कारबाही गर्न विभागलाई लेखी पठाएको उपमेयर खड्कीले जानकारी दिइन्।

उनले अनुगमनको क्रममा म्याद गुजएिको सामान बेच्ने ११ वटा पसलबाट करिब ११ लाख रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको पनि बताइन्। यस्तै, खुद्रा व्यापार गर्ने ७३ वटा पसललाई ७ दिनभित्र दर्ता प्रकियामा आउन निर्देशन दिएको समेत उनले बताइन्।

उपमेयर खड्कीले २२ दिनको अवधिमा मूल्य र गुणस्तरमा उपोभोक्ता ठगी गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा न्यायिक हिरासतमा रहेको पनि बताइन्।

उनीहरुले ४६ रुपैयाँमा खरिद गरेको प्याज कृत्रिम अभाव सिर्जना गरी १ सय ३० रुपैयाँमा बिक्री वितरण गरेको उनले बताइन्। प्याजमा कृत्रिम अभाव सिर्जना गरी कालाबजारी गर्ने व्यापारीहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई समेत ठगी गरेका थिए।

उनीहरुबाट बरामद गरिएको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत् प्रतिकेजी ६० रुपैयाँको प्रति व्यक्ति ३ किलोसम्म खरिद गर्न पाउनेगरी बिक्री गरेको थियो।

आइपीएलमा सट्टेबाजी गर्ने तीनजना पक्राउ

संयुक्त अरब इमिरेट्स (यूएईमा)मा जारी इन्डियन प्रमियर लिग (आइपीएल)मा सट्टेबाजी खेल खेलाएको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१५ भट्टीमोड बस्ने ३८ वर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ वर्षीय बैजनाथ साह र सोही महानगरपलिका-१७ रानी बस्ने ४२ वर्षीय जगदिश साह छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सत्यजितलाई मोबाइल फोनबाट आइपीएल खेल हार्ने वा जित्ने भनी अनलाइनमार्फत् सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न बैजनाथ र जगदिशलाई समेत प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ, ३ थान मोबाइल, १ थान ल्यापटप र १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

विश्वभर दुई करोड ५२ लाख कोरोना संक्रमित निको भए

 विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १३ हजार ७१४ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३९ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ५२ लाख निको भएका छन् भने करिब ७७ लाख मानिस सक्रिय संक्रमित छन् ।

विश्वभर अझै पनि ६६ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७४ लाख नाघिसकेको छ । कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १० हजारको मृत्यु भएको छ ।

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६२ लाख ४५ हजार संक्रमित भएका छन् भने यहाँ ९७ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४७ लाख ८० हजार व्यक्ति संक्रमित भएकामा एक लाख ४३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार ७२२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ । युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

kp-oli

कात्तिक ७ गतेदेखि कानूनबमोजिम क्लिनफिड लागू :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताएका छन् ।

नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट पारे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेको प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न पनि आह्वान गरे ।

प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा सम्भव भएसम्मका सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक र घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरेका छन्।

सम्झौता पछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघले परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी सिर्जना समेत हुने बताए। श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २४१ वटै शाखा कार्यालयहबाट यो कर्जा लिन सकिने बताए।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बैंकसँगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुग्ने बताए। उनले महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिस बमोजिम लगानी भएको कर्जामा संस्थागत जमानत समेत रहने हुँदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने बताए।

समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृत देवेन्द्ररमाण खनाल, विभागीय प्रमुखहरु, महासंघका महासचिव डम्बरप्रसाद रेग्मी लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो। कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

साल्ट ट्रेडिङ्ग र खाद्य व्यापारले भोलिबाट सुपथ मूल्य पसल खोल्दै

दशैँ,तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सरकारले भोलि (बिहीवार) बाट सुपथ मूल्य पसल खोल्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल शुरु गरिने भएको हो।

अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका सामग्री खरिद गर्न सकिने व्यवस्था रहेको छ । सुपथ मूल्य पसलका सामग्री काठमाण्डौ उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरका साथै देशभरका ४९ ठाउँमा खोलिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दुग्धजन्य वस्तुको बिक्री गर्नेछ ।

थप १५५९ जनामा कोरोना पुष्टि, १०५७ डिस्चार्ज; ७ को मृत्यु

बुधबार देशभर एक हजार ५५९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ५५९ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ।

हालसम्म ५६ हजार ४२८ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ। गत २४ घण्टामा १२ हजार २०५ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ५ हजार ४२८ जना क्वारेन्टिनमा रहेका छन्।

कक्षा १२ को परीक्षा विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा

कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०/५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो।

उक्त सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा छन्। तत्काल निर्णय नभएका दशैँ अघि उक्त परीक्षा हुने सम्भावना कम हुनेछ । दशैँपछि हिमाली जिल्लामा परीक्षा गराउन झन् कठिन हुनेछ। यस्तो स्थितिमा आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नजितालाई ५०/५० प्रतिशत मानेर प्रमाणीकरण गराउने विकल्प बलियो हुनसक्ने जनाइएको छ।

चालीस नम्बरका लागि अनलाइनमा परीक्षा गराउँदा खुला पुस्तक परीक्षा (ओपन बुक एक्जाम) हुने भएकाले यसको विश्वसनीयता र सबै स्थानमा अनलाइनको पहुँचको सम्भाव्यताबारे प्रश्न उत्पन्न भएका छन्।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा बोर्ड परीक्षा भएको र यसको अन्तरराष्ट्रिय समकक्षतासमेत हुनुपर्ने भएकाले कुनै न कुनैरुपमा परीक्षा गराउने पक्षमा आफूहरु रहेको केही दिनअघि बताएका थिए।

अनलाइन परीक्षा भएमा परीक्षाका लागि समय कति, परीक्षा केन्द्र कहाँ राख्ने, प्रश्न कसरी विद्यार्थीमा पु-याउने, उत्तरपुस्तिका कसरी सङ्कलन र मूल्याङ्कन गर्ने र नतिजा कहिलेसम्म प्रकाशन गर्ने जस्ता प्रश्न उत्पन्न भएका छन्।

अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्नसक्ने गरी पठनपाठन गराउन भने सरकारले गत भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रिपरिषद्बाट निर्णय भई नआएम्म यसबारे केही भन्न नसकिने जनाउँदै दिइएका विकल्पबाटै निर्णय हुनसक्ने बताए।

गत वैशाख ८ गतेदेखि तोकिएको सो परीक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षामा कूल चार लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए।

बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा १२ का परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँसराइ भएको भए सात दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गरिसकेको छ।

यसअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षा मन्त्रिपरिषद्कै निर्णयका आधारमा विद्यालयबाट आन्तरिक मूल्याङ्कन गराई बोर्डले प्रमाणीकरण गरिसकेको छ भने कक्षा ११ को पनि सोही प्रक्रियाबाट प्रमाणीकरण हुने तय भएको थियो ।

 

पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नक्कली ट्याङ्कीको चाबी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन तेल मिसाएको सूचनाका आधारमा सुवेदीलाई पक्राउ गरिएको जानकारी दिए।

नेपाल आयल निगम थानकोट शाखाका प्रमुख प्रदीप यादवले पेट्रोलमा ६०० लिटरभन्दा बढी तारपिन तेल मिसाएर ल्याएकाले कारबाही गरिएको बताए। दुई साताको अवधिमा आयल निगमले पेट्रोल तथा डिजेलमा मिसावट गर्ने तथा चोरी गर्ने ६ चालकलाई पक्राउ गरी कारबाही गरिसकेको छ।