नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २९ नजाको निधन भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको हो। 

पछिल्लो २४ घण्टामा नेपालमा थप १४७४ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ छ। जसमध्ये २ लाख १४ हजार ५२१ निको भएका छन् भने १७ हजार ४२३ संक्रिय संक्रमित छन्।

तीन गैरआवासिय नेपालीबाट चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको सहयोग

गोरखा, १५ मंसिर- गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लीचोक स्थित भद्रकाली मा.वि. र थुम्का प्रा.वि. का १ सय ३८ जना चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खाजा सहयोग गरिएको छ । भद्रकाली मा.वि. का ५० जना, थुम्का प्रा.वि. का ८८ जना चेपाङ विद्यार्थीलाई कापी, कलम, ज्यामिती बक्स, बिस्कुट लगायतका सामग्रीहरु सहयोग गरिएको हो । काठमाडौं महानगर -३, महाराजगन्ज, मनिकुल टोल घर भई विगत लामो समयदेखि ताइपेइ ताइवानमा बस्दै आएका रोहित श्रेष्ठ, आरुघाट गाउँपालिका वडा नं. ५ अल्काटार स्थायी घर भई हाल हङ्गकङ्गमा बस्दै आएका आकाश बञ्जारा र गण्डकी गाउँपालिका वडा नं. ५ दर्बुङ घर भई हाल जापानमा रहेका बिराट बाबु खनालले सो सहयोग उपलब्ध गराएका हुन । ताइपेइ ताइवान निवासी रोहित श्रेष्ठले सो सामग्री सहयोग गर्नको लागि रु. १ लाख रुपैया तथा आकाश बञ्जारा तथा बिराट बाबु खनालले रु. ५० हजार रुपैया सहयोग उपलब्ध गराएका थिए । रोहित ताइपेइ ताइवानका सफल ह्यान्डीक्राफ्ट ब्यबसायी एवं मेडिटेसन तथा साउण्ड थेरापीका मास्टर समेत हुन । उनले सो सहयोग रकम काठमाडौं निवासी आमा कमला श्रेष्ठ मार्फत स्वर्गीय बुबा रामकुमार श्रेष्ठको पुण्य स्मृतिमा उपलब्ध गराएका हुन । रोहित श्रेष्ठले बिपन्न चेपाङहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै आगामी दिनमा पनि बिपन्न र समस्यामा परेकाहरुलाई सहयोग गर्ने बताएका छन् । सो सहयोग कार्यक्रमका लागि ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष समेत रहेका आकाश बन्जारा र सचिब बिराटबाबु खनालले समन्वय गरेका थिए । भद्रकाली मा.वि. भुम्लीचोकमा आयोजित एक कार्यक्रमका बिच सो सामग्रीहरु विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । सो विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रिम्क गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरले विद्यार्थीहरुलाई सो सामग्रीहरु हस्तान्तरण गरे । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि राना मगरले चेपाङ विद्यार्थीको शैक्षिक विकासको लागि विदेशमा रहेर सहयोग उपलब्ध गराईएकोमा धन्यवाद व्यक्त गरे । उनले सहयोगीदाताहरु रोहित श्रेष्ठ, आकाश बञ्जारा तथा बिराट बाबु खनाललाई विपन्न चेपाङहरुको शैक्षिक उन्नतिको लागि पुर्याएको योगदान प्रति गाउँपालिकाको तर्फबाट आभार प्रकट गरे । सोमबार आयोजित कार्यक्रममा सोही वडाका अध्यक्ष जीवन गुरुङ, विद्यालयका प्रधानाध्यापक नरेन्द्रराज तिमल्सिना, चेपाङ अभियन्ता केपीकिरण शर्मा, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा पत्रकार शिशिर सिंखडा, समाजसेवी निलकण्ठ लामिछाने, देवेन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

बरिष्ठ सौन्दर्यविद सुष्मा महराले पोखरामा आज र भोली सौन्दर्य सम्बन्धी परामर्श दिने

पोखरा १५ मंसिर – फेसियल हाउसका सञ्चालक तथा बरिष्ठ सौंदर्यविद सुष्मा महराले पोखरामा सौन्दर्य तालिम दिने भएकी छिन् । महराले मंसिर १५ र १६ गते फेसियल हाउसको पोखरा ट्रेड मल स्थित ब्राचले आयोजना गर्ने सौन्दर्य सम्वन्धी तालिममा विज्ञका रुपमा सहभागीता जनाउन लागेकी हुन । महराले फेसियल हाउसबाट कार्यक्रम हुने बारे स्पस्ट पारेकी छिन् ।

महराले विषेशत: पोख्रेली माझ स्कीन हेयर सम्वन्धी समस्याकासाथै माईक्रो ब्लेडीङ र कोठी रिमुभ सम्बधमा उनले सत्र संचालन गर्ने जनाएकी छिन् । महराले १५ गते विहान ९ बजे देखि बेलुका ८ बजे सम्म र १६ गते ९ देखि अप्राहन्न १ बजेसम्म परामर्श दिने जानकारी दिएकी छन् ।

गायक ध्रुव बिस्को र गायिका सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया’ सार्वजनिक(भिडियो)

गायक ध्रुव बिस्को र गायिका सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा गायक बिस्कोको नै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियोमा दिनेश डिसी पनि फिचर भएका छन् ।  माइकल सेटअपको करियोग्राफी रहेको भिडियोलाई उत्सव दाहाल र टिमले खिचेको हुन् भने सम्पादन शिलन लम्सालको छ ।

नेपाली लोक तथा पश्चिमेली सङ्गीतलाई दक्षिण भारतीय बिटसँग मिलाएर डान्सिङ शैलीमा यस तयार गरिएको ध्रुव बताउँछन् । उनी भन्छन्, ‘हामीले यस गीत चलचित्रको लागि भनेर तयार गरेका थियौँ । कोरोनाका कारण चलचित्रको टुङ्गो नभएपछि भिडियोमा ल्याउने प्रयास गरेका हौँ ।’

निर्माण सामग्रीमा अत्याधिक मूल्य वृद्धि

नेपाल निर्माण व्यवसायी महासङ्घले कोभिड–१९ को महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्य वृद्धि गरिएको जनाएको छ ।
फलामजन्य निर्माण सामग्री विभिन्न साइजका डन्डी, पाता, पत्ती, जीआई तार, ग्याबिन तार उत्पादक कम्पनीहरूले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा, गिट्टीमा विभिन्न व्यवसायीले अत्यधिक मूल्य वृद्धि गरेको महासङ्घले जनाएको छ ।
फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा अत्यधिक रूपले मूल्य वृिद्ध गरी मिलेमतो गरेको देखिएको छ, महासङ्घका महासचिव रोशन दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अहिलेको मूल्य वृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासङ्घले जनाएको छ ।
त्यसैगरी देशको कुनै पनि स्थानबाट नदीजन्य सामग्रीको उत्खनन र बिक्री वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासङ्घले असन्तुष्टि जनाएको छ । गृहको निर्णयबमोजिम निर्माणाधीन परियोजनामा ढुङ्गा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुनसक्ने अवस्था देखिएकोप्रति महासङ्घले सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराएको छ ।
नेपाल सरकारको यस निर्णयबाट आग्रह र पूर्वाग्रह रूपले क्रसरहरू बन्द हुन गएको र यसबाट अभाव सिर्जना हुन गई खानीजन्य निर्माण सामग्रीमा सीमित व्यवसायीको मिलेमतोमा अत्यधिक मूल्य वद्धि गराई कालोबजारी गरेको गुनासो महासङ्घलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ । केही महिनाअघिको मूल्य र हालको मूल्यमा डन्डी प्रतिकेजी १५ देखि २० रुपियाँसम्म र ढुङ्गा, गिट्टी, बालुवाको स्रोत दरको मूल्यमा दोब्बर मूल्य वृद्धि भएको महासङ्घले
जनाएको छ ।
महासङ्घका अनुसार कोभिड–१९ का कारण सिर्जित चौतर्फी समस्याले गर्दा एकातिर काम गर्न समस्या भइरहेको समयमा मूल्य वृद्धि गरी कालोबजारी हुँदा विशेष गरी साना निर्माण व्यवसायी बाह्र महिनाभन्दा कम अवधि भएका निर्माण आयोजनाको मूल्य समायोजन नहुँदा थप समस्यामा परेको महासङ्घको भनाइ छ ।
व्यवसायीमैत्री ऐन कानुनको अभावमा एकपछि अर्को गरी विविध समस्या झेलिरहेका निर्माण व्यवसायी बेलाबखत सिर्जना भइरहने यी र यस्तै समस्याका कारण प्रताडित भइरहेको महासङ्घले जनाएको छ । अन्य विविध कारणले निर्माण परियोजना समयमै नसकिँदा अरू पक्ष नै जिम्मेवार हुँदाहुँदै एकोहोरो रूपमा व्यवसायीमाथि मात्र दोषारोपण गर्ने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको महासङ्घको भनाइ छ ।
विषम परिस्थितिबीच निर्माण कार्य गर्ने सिजनको मौका छोपी एकातिर निर्माण कार्यको लागत बढाउने र अर्कोतिर यसको फाइदा उठाउँदै मूल्यमा गरिएको कालोबजारीलाई तत्काल रोक्न महासङ्घले आग्रह गरेको छ । नेपाल सरकारबाट प्रभावकारी रूपले अनुगमन गरी मूल्य वृद्धि नियन्त्रणका लागि ठोस तथा सार्थक पहल गरिदिन सरोकारवाला सबै निकायसमक्ष महासङ्घले जोडदार माग गरेको छ ।

  • गोरखापत्रबाट

त्रिविका कक्षा अब भौतिक उपस्थितिमै

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो ।

वार्षिक प्रणालीका विद्यार्थी समेट्दै
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले मातहतका धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको जानकारी र्दिए। धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए । जुम्ला, भोजपुरलगायतका धेरै स्थानबाट विश्वविद्यालयका पदाधिकारीलाई यस खालको माग आएको जनाइएको छ ।
खासगरी विश्वविद्यालय मातहतका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थी अनलाइनमा जोडिन नसकेका कारण भौतिक रूपमा कक्षा सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको जनाइएको छ । विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीको अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्र्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्नसकेको छैन ।

अनलाइन कक्षा पनि निरन्तर
विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरे पनि हाल सञ्चालित अनलाइन कक्षालाई समेत निरन्तरता दिने भएको छ । अब विश्वविद्यालयले दुवै मोडल ९अनलाइन र भौतिक उपस्थिति०बाट कक्षा सञ्चालन गरिने शिक्षाध्यक्ष भुसालले बताउनुभयो । सेमेस्टर प्रणालीमा अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीको पठनपाठन अनलाइन माध्यमबाट भइरहेकाले त्यसलाई समेत निरन्तरता दिइने जनाइएको आजको गोरखापत्र दैनिकममा खवर छ ।

नेताहरुले क्षणिक आवेग, उत्तेजनामा कुनै पनि फैसला गर्नु हुदैन

  • डा.डिआर उपाध्याय

यो जहाज डुवे सबै डुब्ने हो यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर सङ्कटको भुमरीमा छ । दुई वामपन्थी पार्टी मिलेर नेकपा बनेको हो । लामो समय देखि मुलुक कोरोना भाइरसबाट आक्रान्त छ । यही अवस्थामा सत्तारुढ दल नेकपाभित्र बिवाद छ । जसले गर्दा पार्टी एकता नै सङ्कटमा पुगेको छ ।पछिल्लो समयमा दोस्रो पुस्ताका नेताहरूले पार्टी जोगाउँन त्यति पहलकदमी गरेको देखिएन । नेकपाभित्र यसअघिका विवाद भन्दा अहिलेको बिवाद निकै पेचिलो बनेको छ । परिस्थिति जटिल बनेर अघि बढिरहेको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सङ्गीन आरोपसहित प्रतिवेदन सचिवालय बैठकमा पेस गरेपछि विवादले नयाँ मोड लिन पुगेको हो । गुटगत भेला, एक अध्यक्षले अर्का अध्यक्षमाथि सङ्गीन आरोप लगाउने काम रोकिएको छैन । यसअघिका विवादहरू लेनदेनमा समाधान हुन्थ्ये । अहिले त्यस्तो अवस्था देखिदैन । छुट्टाछुट्टै हुने भेला, गुटगत बैठकले नेकपालाई सग्लै राख्न मद्दत गर्छ कि विनाशको बाटोमा । यो गम्भिर प्रश्न छ । एकले अर्कोलाई गाली गलोज गरेर समस्या समाधान हुदैन ।

नेकपा विभाजन हुनु हुदैन भन्र्ने मेरो बिचार छ । यदि नेकपा विभाजन भैहाल्यो भने देश ठूलो दुर्घटनातर्फ जाने छ । यो कुरा नेताहरूले अहिले नै हेक्का राख्न जरुरी छ । बिगतमा पार्टी विभाजनको पीडा नेताहरूले भोगिसकेका छन । बिगतबाट पाठ सिक्न नेताहरुलाई अनुरोध गर्दछु । पार्टीका नेताहरुले क्षणिक आवेग, उत्तेजनामा कुनै पनि फैसला गर्नु हुदैन ।

नेकपा भित्र बहस छलफल सैद्धान्तिक र वैचारिक विषयमा केन्द्रित हुन जरुरी छ । त्यसो भयो भने मात्र नेकपा बचाउन सकिन्छ । अहिले केहि तत्वहरुले व्यवस्थाविरोधी प्रदर्शन गरिरहेका छन । यो चिन्ताको बिषय हो । अहिले राजतन्त्र पक्षधरको ठूलो सङ्ख्यामा सडकमा उपस्थिति देखिएको छ । यो जनतामा देखिएको निराशा हो । काठमाडौँको जमल, मोरङको विराटनगर, बर्दिया, कैलालीको धनगढी, धनुषाको जनकपुर र कास्कीको पोखरामा, बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवलमा ठूलो सङ्ख्यामा प्रदर्शन भएको समाचारहरु आईरहेका छन ।

अव लोकतन्त्रवादी शक्तिहरु संवाद , सहमति र सहकार्य गरेर अघि बढनु पर्ने बेला आएको छ । प्रतिगामी तत्वहरुले टाउँको उठाउँन खोज्दैन । अव सबैले सोच्ने बेला आयो । जव जव दलहरु बिभाजन हुन खोज्छन तव तव प्रतिगामी तत्वहरु सल्वलाउन थाल्छन । अव सरकार चुप लागेर बस्नु हुदैन । ब्यवस्था प्रति नै प्रश्न उठन थाल्यो ।

लामो त्याग, तपस्या र बलिदानले प्राप्त उपलव्धि गुम्ने खतरा आउन थाल्यो । अव सवै लोकतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिऔं । यो जहाज डुवे सबै डुब्ने हो, कोही बाँकी रहिने छैन । अव पार्टी भित्रका आन्तरिक बिवादमा अल्झिएर बस्ने बेला हुदै होइन । अव सत्तारुढ दल नेकपा गम्भिर बनेर सवै लोकतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा ल्याउन पहल सुरु गर्नु पर्छ । यो आजको आवश्यकता हो ।

क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना

कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना भएका छन् ।

होम आइसोलेसनमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनमा गत शुक्रबार कोरोना संक्रमण भएको थियो ।

खाना पकाउने ग्यासको भाउ घट्यो

लामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घटाएको हो।

यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सलिण्डर एक हजार ४ सय रुपैयाँ थियो। अब उपभोक्ताले प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन्। यसैगरी, निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ। यसैगरि, डिजेल र मट्टितेलको भाउ प्रति लिटर ५० पैसाले वृद्धि भएको छ।

निगमले निर्धारण गरेको स्वचालित मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर एकसय ९ रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रति लिटर ९७ रुपैयाँ भएको छ । हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य अनुसार इन्धनको मूल्य समायोजन गरिएको बताए।