स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)लाई निर्देशन दिएको छ ।

२०७६ चैत १२ गते स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति भनी सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको भन्दै समितिले खरिदमा संलग्न पदाधिकारीउपर छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।सार्वजनिक लेखा समितिको ३ पुसमा बसेको बैठकले नोवेल कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैतमा ओम्नी बिजनेस कर्पोरेसनसँग गरेको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गरेको थियो । सोही दिन समितिले यो प्रकरणमा विस्तृत छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको थियो ।

५ पुसमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएपछि लेखा समितिले अख्तियारलाई पत्र पठाउन पाएको थिएन । संसद पुनर्स्थापना भएपछि बसेको समिति बैठकले तीन महिनाअघिकै निर्णय कार्यान्वयन गर्न पत्र पठाएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारलाई पत्र लेख्नुअघि सार्वजनिक लेखा समितिले आफैँले अध्ययन गरेको थियो । तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र खरिद कार्यमा संलग्न अन्य पदाधिकारीहरुलाई समेत बोलाएर समितिले छलफल गरेको थियो ।

तर, समिति आफैँले कसैलाई दोषी ठहर नगरी अख्तियारलाई विस्तृत अध्ययन गर्न भनेको हो ।

थप १ सय ६२ जनामा कोरोना, सक्रिय संक्रमित १४ सय ९३

बुधबार नेपालमा थप १ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १४ सय ९३ रहेको छ । पछिल्लो २४ घण्टामा ५९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शुन्य मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५९ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ७१ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

politics

माधवपक्षीय युवासंघको छुट्टै केन्द्रीय कार्यालय स्थापना

नेकपा (एमाले)को माधव नेपाल पक्षले आफूपक्षीय युवा संघको छुट्टै केन्द्रीय कार्यालयको उद्घाटन गरेको छ ।

बबरमहलस्थित कार्यालयको नेता माधवकुमार नेपालले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

पार्टीभित्र सामानान्तर संगठन बनाइरहेको नेपाल पक्षले ८ चैतमा युवासंघको छुट्टै नेतृत्व चयन गरेको थियो ।

नरेशकुमार शाहीको नेतृत्वमा ५० सदस्यीय युवासंघ नेपाल पक्षले गठन गरेको थियो ।

साउदी अरबमा ‘सर्भेन्ट’ र ‘मेड’ भन्न बन्देज

साउदी अरब सरकारले घरेलु श्रमिकलाई ‘सर्भेन्ट’ तथा ‘मेड’ भन्ने शब्द प्रयोग गर्न बन्देज लगाएको छ । यी दुई शब्दले आप्रवासी श्रमिकको स्वाभिमानमा धक्का लागेको भन्दै साउदी अरबको वाणिज्य मन्त्रालयले घरेलु श्रमिकसम्वन्धि विज्ञापनमा ‘सर्भेन्ट र ‘मेड’ भन्ने शव्द राख्न बन्देज लगाएको हो ।

साउदी सरकारका अनुसार यी दुई शव्दको ठाउँमा श्रमिक वा महिला श्रमिक भन्ने शव्द प्रयोग गर्नुपर्नेछ । हाल मध्यपूर्व तथा खाडीका मुलुकहरुमा काम गर्ने घरेलु श्रमिक महिलालाई ‘सर्भेन्ट’ र ‘मेड’ भन्ने चलन छ । त्यसो त यसअघि देखि नै यी शब्दले आप्रवासी श्रमिकको स्वाभिमानमा धक्का पारेको भन्दै यसको आलोचना हुँदै आएको थियो । विशेषगरी श्रमिकको हितमा काम गर्ने अन्तराष्ट्रिय संघ संगठनहरुले यसको कडा विरोध गर्दै आएका छन् ।

यीनै कुरालाई मध्यनजर गर्दै अब कुनै पनि विज्ञापनमा कुनै पनि आप्रवासी श्रमिकको तस्बिर, परिचयपत्र वा व्यक्तिगत पहिचानको कागजातको प्रयोग गर्न साउदी सरकारले बन्देज लगाएको छ ।

घरेलु श्रमिकलाई अमानविय व्यवहार गर्ने मुलुकका रुपमा परिचित साउदी अरबले श्रम क्षेत्र सुधारतर्फउन्मुख भइरहेको छ । केही समयअघि खाडी मुलुक कतारले कफला प्रणाली हटाउँदै न्यूनतम ज्याला समेत तोकिसकेको छ ।

यसरी साउदी अरबमा घरेलु श्रमिकमाथि सम्मानको व्यवहारको थालनी भएसँगै साउदीमा अब ‘नयाँ युग शुरु भएको’ र ‘ऐतिहासिक घटना’ भनेर पनि भन्न थालिएको छ । तर, अहिले नै उक्त कार्य कार्यान्वयनमा आइनसकेकाले नयाँ कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा आउनेमा अझै पनि आशंका भने यथावत नै छ ।

सत्ता स्वार्थमा अल्झिएको राजनीतिक दाउपेज

  • डा.डिआर उपाध्याय,

यो देशको उन्नति , प्रगति के कसरी गर्ने भन्ने चिन्तन मनन सवैको हुन जरुरी छ । सत्ता स्वार्थ र राजनीतिक दाउपेजले मुलुक अघि बढाउन सकिदैन । अहिले देशमा जुन किसिमको राजनीति गतिविधि चलिरहेको छ त्यसमा जनता पूर्णरुपमा सन्तुष्टि छैनन् । देशको भाग्य र भविश्य निर्माणका लागी सवै जुटनु पर्ने बेला हो यो । पार्टी भित्रको आन्तरिक विवादले देश सोचे अनुसार अघि बढन नसकेको यथार्थ हो । संसद अवरुद्ध छ , जनताका समस्या उठाउने थलो नै अवरुद्ध हुदा जनसरोकारका बिषय ओझेलमा परेका छन ।

आज देश बिषम परिस्थितीवाट गुज्रिरहेको छ । जनताका समस्या दिन प्रतिदिन बढदै गएका छन । जनतालाई एक छाक खान समस्या भैरहेको छ । महंगीले आकाश छोएको छ । बजार भाउ छोइसक्नु छैन । देशमा पटक पटक राजनीतिक परिवर्तन त भयो तर जनताको जीवनमा परिवर्तन आउन सकेन । राजनीतिक परिर्वतनका लागी जनताको त्याग , तपस्या र वलिदानी भएको थियो । त्यो कुरा दलका नेताहरुले बिर्सिदै गएका छन । राजनीतिक दल र तिनका नेताहरु आफनो ब्यक्तिगत स्वार्थ बाहेक अरु केही सोचेनन् । समस्या यो हो । हिजो सम्म राम्रो संग जुत्ता चप्पल लगाउन नसक्ने नेताहरु अहिले रातारात खर्वपति बनेका छन ।

राजनीतिको नाममा ब्यापार भएको छ । यसरी देश बन्दैन । देश बनाउन त्याग, तपस्या र दुरदर्शी नेताको आबश्यकता हुन्छ । कुनै पनि ब्यक्तिगत स्वार्थ नभएको नेताले मात्र देश बनाउँछ । स्वार्थी नेताले देश वनाउन सक्दैनन् । आज हरेक पार्टीका कार्यकर्ताहरु निरीह छन । नेताले जे भन्यो त्यो मान्न तयार छन । पुराना पुस्ताका नेताहरुले ज्यान जाला आफनो पद छोडन तयार छैनन् । युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्न कुनै पार्टी तयार छैनन् । यो हरेक पार्टीमा देखिएको रोग हो । युवा नेताहरु खुलेर शीर्ष नेताको आलोचना गर्न सक्दैनन् । लोकतन्त्रमा छलफल आलोचना गर्न पाइन्छ । पार्टीलाई सत्मार्र्गमा हिँडाउने भनेको युवाहरुले हो । अव अहंकारको राजनीतिले कसैलाई फाइदा गदैन ।

अव दलहरु सुध्रिनु पर्छ । नेताले जे गरे पनि अन्धभक्त भई स्विकार्ने काम युवा नेताहरुले गर्नु हुदैन । कार्यकर्ताहरु दल र तिनका नेताहरुको अन्धभक्त हुनु हुदैन । नेताका गलत कदमविरुद्ध बोल्न सक्नु पर्छ । जे गरे पनि ठीक हो भन्दै पछि लाग्नु राम्रो होइन । हरेक पार्टीका कार्यकर्ताहरुको आफ्नै पीडा छ । त्यो पीडा नभएको होइन । नेतावाट अपहेलित हुुनुपर्ने अवस्था पनि छ । तल्लो तहका कार्यकर्ताले दैनिक रूपमा जनताका सुखदुःखमा साथ दिइरहेका पनि छन । जनताका समस्यालाई सरकारसमक्ष र सरकारका योजना कार्यक्रम जनतासमक्ष राख्नेगरी सरकार र जनताबीच पुलको काम पनि त्यही तल्लो तहका नेता कार्यकर्ताले गरिरहेका छन । तर, नेताहरू महत्व दिँदैनन ।

ती जनताका समस्याहरु प्राथमिकतामा पर्दैनन् अनि निराश भएर गाउँ फर्किन्छन् ् तर कार्यकर्तामा भएको यो इमानदारितालाई नेताहरुले सम्मान गर्न सिक्नु पर्छ । चाकडीले पद, प्रतिष्ठा मिल्ने परिपाटी पार्टीमा झांगिदै गएको छ । यस्तो परिपाटीमा सुधार हुनु जरुरी छ । जो इमानदार नेता कार्यकर्ता छन तिनीहरु लाभको राजनीतिमा पछि छन । त्यसले गर्दा नेताका गलत कदमविरुद्ध बोल्ने साहस गदैनन् । तर, सबै कार्यकर्ता यसरी नै चुप लागेर बसेका छैनन् । जो निष्ठावान् इमानदार देशभक्त छन्, उनीहरू सशक्त रूपले खबरदारी गरिरहेका छन् । अहिले प्रतिनिधिसभा पुनःस्थापना भएर राजनीतिले एउटा गति लिए पनि संसद्ले उपयुुक्त बिजनेसअनुसार कामगर्न पाइरहेको छैन । संसदीय मर्यादा गुमाइरहेका छन् ।

डोनाल्ड ट्रम्पले सार्वजनिक गरे आफ्नै वेबसाइट

सामाजिक संजालहरु फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट ल्याएका छन् । उनको यो वेबसाइट सामाजिक संजाल नै भएको दावी गरिएको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजित भएपछि ट्रम्पले गरेका फर्जी दावी र उनका समर्थकले संसद भवनमा आक्रमण गरेपछि सामाजिक संजालहरुले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए । ट्रम्पमाथि सामाजिक संजाल प्रयोग गरेर समर्थकलाई भड्काएको आरोप लगाइएको थियो ।

अब ट्रम्पले आफ्ना समर्थनकसँग जोडिइरहन र आफ्नो कामबारे समर्थकलाई जानकारी दिन आफ्नो आधिकारिक वेबसाइट ‘फोर्टीफाइभअफिस डटकम’ सुरु गरेका छन् । ट्रम्पले वेबसाइटमा ‘अमेरिका फर्स्ट’ एजेन्डालाई प्रमुखता दिएका छन् । वेबसाइटमा उनको कार्यकालमा गरिएका कामहरुको जानकारी दिइएको छ । ट्रम्पले चुनाब हारेपछि पनि रिपब्लिकन पार्टीमा उनको प्रभाव कायमै छ र उनले २०२४ मा फेरि चुनाब लड्ने तयारी गरेका छन् । यो वेबसाइट अर्को चुनाबको लागि आधार तयार गर्नको लागि ल्याइएको हुन सक्ने अनुमान गरिएको छ ।

फिफा विश्वकप छनौटमा मंगोलियाविरूद्ध जापानको १४ गोल

फिफा विश्वकप छनौट अन्तर्गत जापानले मंगलियालाई लज्जास्पद तवरले हराएको छ ।

मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४-० ले पराजित गरेको छ ।

जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानलाई जित दिलाउन युया ओसाकोले ह्याट्रिक पूरा गरे । यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २/२ गोल गरे ।

ताकुमी मिनामिनो,दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १/१ गोल गरे । मंगोलियाका तुयाले एक आत्मघाती गोल गरे ।जितसँगै समूह एफ को जापानले ५ खेलमा १५ अंक जोडेको छ । शीर्ष स्थानको जापानले पाँच खेलमा शतप्रतिशत जित निकालेको छ ।

सगरमाथा आरोहणका लागि बहराइनका राजकुमार लुक्ला प्रस्थान

बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितको टोली सगरमाथा आरोहणका लागि लुक्का प्रस्थान गरेको छ। राजकुमार खलिफाससिहतको १६ सदस्यीय टोली चार वटा हेलिकोप्टरमार्फत लुक्का प्रस्थान गरेका हुन्।

उनीहरु हेली एभरेष्ट, मनाङ एयर, माउन्ट एयर अल्टिच्युट एयरका चारवटा हेलिकोप्टरमार्फत सगरमाथा आरोहणका लागि लुक्का प्रस्थान गरेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार राजकुमारसहितको टोली दुई दिन लुक्कामै बस्ने र त्यसपछि नाम्चे बजार जानेछन्।

सगरमाथा आरोहणका लागि राजकुमार खलिफाको टोली ७९ दिने भ्रमणका लागि नेपाल आएको थियो। यसअघि सन् २०२० अक्टोबरमा सो टोलीले लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो।

अनधिकृतरूपमा सञ्चालित पसल हटाउन विभागलाई पुनः ताकेता

काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ। गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो।

पत्राचार गरेको एक महिना बितिसक्दासम्म उक्त पसलहरु सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न पुनः आग्रह गरेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजनका पसल हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै कामपाले माइकिङ शुरु गरेको हो।

“पटक–पटक मौखिक र लिखितरूपमा आग्रह गरे पनि विभागले ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिहेका व्यापारी–व्यवासायीलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङक गरेका हौँ”, कामपा प्रहरी प्रमुख धनपति सापकटाले भने, “वारुणयन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरसहितका पसल सञ्चालित छन्। उहाँहरुले आफैँ हटाउन मान्नु भएन भने हामी हाम्रो ढङ्गबाट अघि बढ्छौँ।”

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले कामपाको प्रयासलाई सकारात्मकरूपमा लिएको भन्दै सो क्षेत्र पुरातत्वको क्षेत्राधिकारभित्र पर्ने हुँदा समस्या समाधानका लागि प्रयास जारी राखेको बताउँछन्।