पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १८७ जनाको पीसीआर परीक्षणबाट १ हजार ८८९ र ४ हजार ३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ३ जना गरी जम्मा २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ५९७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

रेश्मा बोम्जन र प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना” सार्वजनिक (भिडियो)

गायिका रेश्मा बमजन र गायक प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना”बोलको आधुनिक गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र सङ्गीत प्रदिप ग्लानको रहेको छ भने सङ्गीत एरेन्ज पुष्कर सुनुवारले गरेका छन् ।

भिडियोको छायाङ्कन, निर्देशन तथा सम्पादन भबिन्द्र तामाङले गरेका हुन् । राजेन्द्र थापा र प्रिन्सेस कोईरालाको अभिनय रहेको भिडियो हाईलाईट्स नेपालको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भारतमा थप ४५ हजारमा कोरोना संक्रमण, मृत्यु संख्या हजार मुनि

भारतमा थप ४५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ६९९ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २३औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ पुगेको छ । भारतमा ५ लाख ४३ हजार ७१८ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ८१६ संक्रमितको मृत्यु भएको छ ।

आजदेखि तीनदिनसम्म लगातार भारि बर्षा हुने सम्भावना, सतर्क रहन आव्हान

आजदेखि तीनदिनसम्म लगातार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासिहत देशका विभिन्न ठाउँमा अहिले पनि पानी परिरहेको छ । यो क्रम तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन । उनका अनुसार मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी (ठूलो) वर्षा भइरहेको छ। यो क्रम अझै तीन दिन जारी रहने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले चेतावनीसहितको सूचना जारी गर्दै प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको र पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सत्तारुढ नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय

सत्तारुढ नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ गते फर्काउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठकसमेत बोलाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीको भनाइ छ । माधव नेपाल समूहले माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्थामा फर्काउनुपर्ने अडान राखेको थियो । सर्वोच्च अदालतले पनि महाधिवेशन आयोजक कमिटीको वैधानिकतामा प्रश्न उठाएपछि पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको हो । यसबारे भोलि बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले निर्णय गर्ने एक नेताले बताए ।

‘सर्वोच्च अदालतका आदेशहरु, संसद विघटनका मुद्दा र पार्टीको विवादलाई एकतावद्ध बनाउन भइरहेको सन्दर्भमा पार्टी एकताको सन्दर्भमा महत्वपूर्ण निर्णय हुन्छ’ उनले भने । सर्वोच्च अदालतको २३ फागुनको आदेशले पुनर्स्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू पक्षीय नेताहरुको बैठक राखेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु हटाउने, दशौं महाधिवेशन आयोजक कमिटी बनाउने लगायतका निर्णय गरेका थिए । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल,महासचिव ईश्वर पोखरेल ,प्रदिप कुमार ज्ञवाली,राम बहादुर थापा ,नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ केशव बडाल,पृथ्वीसुब्बा गुरुङ ,टोपबहादुर रायमाझी ,बिष्णु रिमाल लगायतको उपस्थिति रहेको थियो । बैठकले  भोलि बस्ने राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटीलाई केन्द्रिय कमिटीमा रूपान्तर गर्ने र यही १८ गते बस्ने केन्द्रिय कमिटीको बैठकले नेकपा एमाले भित्र भएको बिबादलाई समाधान गर्ने लगायतका निर्णय गरेको हो ।

स्वीडेनलाई पराजित गर्दै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा

स्वीडेनलाई पराजित गर्दै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो  ।

युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । स्वीडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए । निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २०औँ मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २-१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासमा गोल गरे ।

माओवादीले कारबाही गरेका दुई जनप्रतिनिधिलाई पुनवर्हाली गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले माओवादी केन्द्रले कारबाही गर्दै पदबाट हटाएका दुई जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।सर्वोच्चले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरिदिएको छ । आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो । माओवादी केन्द्रको पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।

युरोकप फुटबल: जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज भएको खेलमा जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ | लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा इंग्याण्डले जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० गोल अन्तरको जित सुनिश्चित गरे । यससँगै इंग्ल्यान्ड क्वार्टरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । जर्मनी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

राजकुमार सहितको सगरमाथा आरोही टोलीलाई सम्मान

बहराइनका राजा हम्मद बिन ईसा अलखलीफाले सगरमाथा सफल आरोहण गरेका राजकुमार मोहम्मद हम्मद मोहम्मद अल खालीफासहितको टोलीलाई सम्मान गरेका छन्।

आइतबार आयोजित एक विशेष समारोहमा राजा हम्मदले नेपालमा अवस्थित विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर ऐतिहासिक मिशन पूरा गरेकोमा रोयल गार्ड आरोही टोलीलाई सम्मान गरेको गरेका हुन्।

समारोहमा रोयल गार्ड स्पेशल फोर्स कमाण्डर लेफ्टिनेंट कर्नल हिज हाईनेस शेख खालीद बिन हम्मद अल खलीफा उपस्थित थिए। हिज हाइनेस शेख नासेरलाइ दोस्रो र तेस्रो श्रेणीको बहराइन मेडलका साथै टोली सदस्यहरूलाई पुरस्कृत गरेका थिए।

साथै उनीहरूको प्रयास, शक्ति र दृढ संकल्पले गर्दा सबै चरणमा देखाएको ऐतिहासिक उपलब्धिको लागि प्रसंशा पाएका थिए। हिज हाइनेस शेख नासिरले सम्मानजनक उपलब्धी मौसुफको अनुगमन र निर्देशन र बहराइन प्रतिरक्षा बलको निरन्तर हेरचाहले मिसन सफल भएको व्यक्त गरेका थिए। राजाद्वारा राजकुमार खालिफासहितका टोलीलाई बहराइन मेडल् हस्तान्तरण गरिएको हो।

बहराइन राजकुमार खालिफासहितको टोली जेठ १८ गते विहानै सगरमाथाको शिखर आरोण गर्न सफल भएका थिए ।
राजकुमार खलिफा र उनको टीमले सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर मापन भए पश्चात आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टोलीको कीर्तिमान पनि कायम गरेका थिए । यो सँगसँगै बहराइनबाट पहिलो पटक सगरमाथा चढ्ने कीर्तिमानसमेत कायम गरेका छन्।

उनीसहित १६ सदस्यीय टोली सगरमाथा आरोहणको लागि चैत २ गते नेपाल आइपुगेको थियो।
राजकुमार खलिफाको टोली ७९ दिने भ्रमणका लागि नेपाल आएको थियो। यसअघि सन् २०२० अक्टोबरमा सो टोलीले लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेका थिए।