२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

कर्णालीको पीडाप्रति राज्य उदासीन भएको ज्ञानेन्द्र शाहीको आरोप

सोमवार, आषाढ २२ २०८३०१:२६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीका नागरिकको पीडाप्रति राज्य गम्भीर नभएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले केही दिनअघि कर्णाली नदीमा गाडी खस्दा यात्रु बेपत्ता भएको घटनामा सरकारको उद्धार संयन्त्र कमजोर देखिएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

संसद्मा भावुक रूपमा प्रस्तुत भएका शाहीले उक्त घटना केवल सडक दुर्घटना मात्र नभई राज्यको असफलताको उदाहरण भएको बताए। उनका अनुसार दुर्घटनापछि यात्रुहरू उद्धारको प्रतीक्षामा रहे पनि समयमै प्रभावकारी उद्धार हुन सकेन। उनले कर्णालीका नागरिक संकटमा पर्दा राज्यको उपस्थिति कमजोर देखिएको टिप्पणी गरे।

शाहीले घटनास्थलमा समयमै उद्धार टोली पुग्न नसकेको, आवश्यक साधनस्रोतको अभाव देखिएको र सुरक्षाकर्मी पुग्दा धेरै ढिला भइसकेको दाबी गरे। उनले उद्धार कार्यमा भएको ढिलाइले कर्णालीका नागरिकप्रति राज्यको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको बताए।

उनले दुर्घटनाका बेला कर्णालीको आकाशमा हेलिकप्टर देखिए पनि त्यो पीडित नागरिकको उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि प्रयोग भएको भन्दै आक्रोश व्यक्त गरे। “कर्णालीका नागरिक संकटमा हुँदा राज्यका साधनस्रोत उनीहरूको जीवन रक्षाका लागि किन प्रयोग भएनन्?” भन्दै उनले सरकारसँग जवाफ माग गरे।

शाहीले उक्त दुर्घटनामा बेपत्ता भएका नागरिकहरू केवल संख्या मात्र नभई कसैका परिवार, अभिभावक, सन्तान र आशा भएको उल्लेख गरे। उनले कर्णालीका नागरिक पनि यसै देशका नागरिक भएकाले विपद्को समयमा उनीहरूले समान अधिकार, तत्काल उद्धार र राज्यको संरक्षण पाउनुपर्ने बताए।

संसद्मा उनले सरकारलाई घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइबारे जिम्मेवारी निर्धारण गर्न, दोषी देखिए कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी विपद् उद्धार प्रणाली बनाउन माग गरे।

शाहीले कर्णालीले दया नभई अधिकार मागेको उल्लेख गर्दै कर्णालीका जनताको जीवनको मूल्य राज्यले बुझ्नुपर्ने बताए। उनको ध्यानाकर्षणपछि सभामुख डोलप्रसाद अर्यालले यस विषयमा आफूले अध्ययन गर्ने बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij