ए.एस. उडान फिल्म प्रोडक्सनको पहिलो तीज गीत ‘५० हजारको सारी’ छिट्टै दर्शक तथा श्रोतामाझ सार्वजनिक हुने भएको छ। नेपाली मौलिक कला, संस्कृति र तीजको उत्सवलाई केन्द्रमा राखेर निर्माण गरिएको गीत सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।
‘यो तीजमा ५० हजारको सारी’ बोलको उक्त गीतको छायांकन काठमाडौं, ललितपुर, पाटनलगायत विभिन्न रमणीय तथा सांस्कृतिक स्थानमा गरिएको हो। छायांकनका क्रममा उपस्थित दर्शकहरू गीत गुनगुनाउँदै नाचगानमा रमाएको दृश्यले गीतप्रतिको आकर्षण र सम्भावित लोकप्रियताको संकेत दिएको निर्माण पक्षको भनाइ छ।
गीतमा चर्चित गायक समर्पण मगर र गायिका सीमा नेपालीको सशक्त तथा दमदार स्वर रहेको छ। नेपाली तथा भारतीय संगीत क्षेत्रमा विभिन्न गीतमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेका गायक–गायिकाको स्वरले गीतलाई थप आकर्षक बनाएको बताइएको छ।
गीतको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भइसकेको र अब भव्य कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने तयारी भइरहेको ए.एस. उडान फिल्म प्रोडक्सनका निर्माता तथा प्रबन्ध निर्देशक एवं नेपाली चलचित्र क्षेत्रका वरिष्ठ चलचित्रकर्मी अम्बिका प्रसाद आचार्यले जानकारी दिनुभयो।
गीतको कथा तथा निर्देशन कृष्ण जनालाले गर्नुभएको हो भने निर्माणको जिम्मेवारी ए.एस. उडान फिल्म प्रोडक्सनले सम्हालेको छ। गीतमा समर्पण मगर, विपिन कार्की, धर्मराज शाही र सुविक्षा सापकोटाले अभिनय गरेका छन्। कलाकारहरूको आकर्षक प्रस्तुति र जोडीले गीतलाई थप मनोरञ्जनात्मक बनाएको निर्माण पक्षको दाबी छ।
गीतको छायांकन राजेश बोहोराले गर्नुभएको हो। कलर संयोजनमा अमित बी.के., शृङ्गारमा पूजा ठकुरी, व्यवस्थापनमा सन्तोषबाबु तथा नृत्य निर्देशनमा सञ्जिला सुमित्राको भूमिका रहेको छ। त्यस्तै, सहयोगी भूमिकामा अनिल शाही, लक्ष्मण बगर, देव बोहोरा, अर्जुन कुँवर र राजेन्द्र गिरी रहेका छन्।
गीतको रेकर्डिङ, संगीत, एरेन्ज तथा मिक्सिङको जिम्मेवारी प्रेम दीपले सम्हाल्नुभएको छ। गीत निर्माणमा निर्देशक नरेश नागरी, कपिल आचार्य, दुर्गेश बादबोही, रिदम जनाला र समर्पण मगरले विशेष सहयोग पुर्याएको भन्दै निर्माण पक्षले धन्यवाद व्यक्त गरेको छ।
समर्पण मगर र रिदम जनालाको प्रस्तुति रहेको ‘५० हजारको सारी’ गीत छिट्टै जेके मुभिज एन्ड इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने जनाइएको छ।
शुद्ध नेपाली भाषा, मौलिक संस्कृति र परम्परागत तीजको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले तयार पारिएको यस गीतले दर्शक तथा श्रोताको मन जित्ने निर्माण टोलीले विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस