उपभोक्ता अदालतले प्रसूति उपचारका क्रममा मृत्यु भएकी मनिता शर्माको उपचारमा लापरबाही भएको ठहर गर्दै एभरेस्ट अस्पताल र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योत्सना शर्मा तिवारीलाई पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ।
अदालतका अध्यक्ष डा. दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले अस्पतालबाट ३० लाख रुपैयाँ तथा डा. तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो।
फैसलाअनुसार सिभियर प्रि–एक्लेम्प्सियाबाट पीडित बिरामीलाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि समयमै नदिइएको उपचार प्रक्रियाको गम्भीर त्रुटि रहेको अदालतले ठहर गरेको छ। उक्त औषधि शल्यक्रियापछि मात्र दिइएको र यही लापरबाहीले बिरामीको अवस्था थप जटिल बनेको निष्कर्ष अदालतले निकालेको छ।
मनिता शर्मा २५ मंसिर २०८१ मा पेटको माथिल्लो भाग दुखेपछि एभरेस्ट अस्पताल भर्ना भएकी थिइन्। साँझ सिजेरियनमार्फत शिशुको जन्म भए पनि त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। थप उपचारका लागि ह्याम्स अस्पताल रेफर गरिएकी उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको थियो।
मृतकका श्रीमान् सुवास पराजुलीले उपचारमा चिकित्सकीय लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए।
अदालतले चिकित्सकको व्यक्तिगत जिम्मेवारीसँगै अस्पतालको संस्थागत तथा प्रशासनिक दायित्वसमेत रहेको निष्कर्ष निकाल्दै दुवै पक्षलाई उत्तरदायी ठहर गरेको हो। प्रतिवादी अस्पताल र चिकित्सकले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गरेका थिए।
प्रतिक्रिया दिनुहोस