कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका औषधि व्यवसायी सुरेशचन्द्र श्रेष्ठको घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका–२६, नरदेवी स्थायी घर भई कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा बस्दै आएका ७० वर्षीय श्रेष्ठ मंगलबार ट्याङ्लाफाँटस्थित चाँदनी चोकनजिक मृत भेटिएका थिए।
प्रहरीका अनुसार श्रेष्ठ मंगलबार बिहान बा.५ च ३०३८ नम्बरको कार चलाएर उक्त क्षेत्रमा पुगेका थिए। केही समयपछि कारमा आगलागी भएको जानकारी पाएपछि स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। आगो नियन्त्रणमा लिँदा उनी चालक सिटमा मृत अवस्थामा फेला परेका थिए।
घटनास्थल आसपासको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उपलब्ध प्रमाणहरूको अध्ययन गर्दा घटना व्यक्तिगत कारणसँग सम्बन्धित देखिएको छ। यद्यपि पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र घटनाको अन्तिम निष्कर्ष सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले श्रेष्ठ पछिल्लो समय आर्थिक समस्यामा रहेको जानकारी प्राप्त भएको जनाएको छ। कोरोना महामारीपछि व्यवसायमा घाटा भएको र ऋणको दबाबसमेत बढेको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन्।
श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। यातायात व्यवस्था विभागको अभिलेखअनुसार घटनामा प्रयोग भएको कार सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको संयुक्त नाममा दर्ता रहेको अनुसन्धानबाट खुलेको छ।
प्रतिक्रिया दिनुहोस