काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । पहिलो संस्करणको विजेता जनकपुर र दुईपटक उपविजेता बनेको सुदूरपश्चिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
आजको खेलमा सुदूरपश्चिम आफ्नो जितको लय कायम राख्दै प्लेअफको सम्भावना थप बलियो बनाउने लक्ष्यमा हुनेछ । पाँच खेल खेलेको सुदूरपश्चिमले तीन खेलमा जित र दुई खेलमा हार बेहोर्दै ६ अंक जोडेको छ । ऊ हाल अंकतालिकाको तेस्रो स्थानमा छ ।
यता, जनकपुर पनि जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने योजनामा मैदान उत्रनेछ । पाँच खेल खेलेको जनकपुरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । चार अंकसहित पाँचौँ स्थानमा रहेको जनकपुरका लागि आजको खेल प्लेअफ यात्राका दृष्टिले महत्वपूर्ण हुनेछ ।
जारी एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन् । प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस