२०८३, श्रावण २५ गते

सोमवार, श्रावण २५ गते २०८३

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

आइतवार, श्रावण २४ २०८३१०:४१

खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको सूचनापछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी र अनुगमन सुरु गरिएको हो ।

भारतबाट ग्यास आयातमा कुनै समस्या नरहेको अवस्थामा बजारमा एकाएक ग्यासको अभाव देखिएको तथा महँगो मूल्यमा बिक्री भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासा तथा सूचनाहरू आउन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा गम्भीर चासो लिएकी थिइन् ।

ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तालाई समस्यामा पार्ने, ग्यास लुकाउने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गतिविधि भइरहेको पाइएपछि त्यसलाई नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग अनुगमनका लागि प्रहरी परिचालन गर्न आग्रह गरेकी थिइन् ।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी ग्यासको आपूर्ति, बिक्री वितरण तथा सम्भावित कालोबजारीबारे निगरानी थालिएको हो ।

प्रहरीले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तासँग तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने वा अन्य कुनै किसिमको कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कारबाही गर्ने गरी अनुगमन गरिरहेको बताइएको छ ।

गृह मन्त्रालयका अनुसार उपत्यकामा भइरहेको अनुगमनबाट प्राप्त सूचना र अवस्थाको मूल्याङ्कनपछि आवश्यक परे देशका अन्य जिल्लामा रहेका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरेर निगरानी बढाइनेछ ।

सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ । कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमनलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाउने तयारीसमेत सरकारले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij