काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सीबीएसई (CBSE), आईबीडीपी (IBDP) लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको पूर्वस्वीकृतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले यसको कार्यान्वयनमा कडाइ गर्ने जनाएको हो।
मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई विदेशी सम्बन्धनका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी प्राप्त भएकाले कानुनी व्यवस्था पुनः स्मरण गराइएको हो।
मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा सरोकारवाला सबैलाई तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना उपलब्ध गराउन आग्रह गरेको छ।
मन्त्रालयका अनुसार उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, पारदर्शिता तथा प्रभावकारी नियमन सुनिश्चित गर्ने उद्देश्यले उक्त नियमावली लागू गरिएको हो। नयाँ नियमावलीसँगै नेपालमा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने शैक्षिक कार्यक्रमका लागि स्पष्ट मापदण्ड र नियामकीय व्यवस्था लागू हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस