देशभर फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण नियन्त्रणउन्मुख भएको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशमा बर्डफ्लुको नयाँ सङ्क्रमण पुष्टि भएको छैन।
विभागका महानिर्देशक डा. उमेश दाहालले पछिल्लो समय काठमाडौँको गोकर्णेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएपछि नयाँ केस नदेखिएको जानकारी दिए। उनका अनुसार प्रभावित क्षेत्र वरपरबाट नमुना सङ्कलन गरी परीक्षणको काम भने निरन्तर भइरहेको छ।
बर्डफ्लु पहिलोपटक मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा पुष्टि भएको थियो। त्यसयता काठमाडौँ उपत्यकासहित ११ जिल्लामा सङ्क्रमण फैलिएको थियो। विभागका अनुसार काठमाडौँ उपत्यकाबाहेक सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा देखिएका अधिकांश सङ्क्रमण पनि नियन्त्रणउन्मुख छन्।
सङ्क्रमण नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजारभन्दा बढी पन्छी, ११ लाख ६५ हजारभन्दा बढी अण्डा तथा ठूलो परिमाणमा दाना नष्ट गरिएको विभागले जनाएको छ।
सरकारले प्रभावित किसानलाई राहतस्वरूप रु ५० करोडभन्दा बढी रकम वितरण गरिसकेको छ। हालसम्म १०४ जना किसान तथा फार्म सञ्चालकको खातामा रु ५० करोड ७१ लाखभन्दा बढी राहत रकम निकासा गरिएको विभागले जनाएको छ।
बर्डफ्लु नियन्त्रणमा आएसँगै बजारमा कुखुराको मासु र अण्डाको खपत पनि बढ्न थालेको छ। यसले केही समयदेखि मूल्य घटेर समस्यामा परेका किसानलाई राहत मिल्न थालेको विभागको भनाइ छ।
प्रतिक्रिया दिनुहोस