विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने हर्मुज स्ट्रेट बन्द गर्ने घोषणा इरानले गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसेनाले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म र अर्को सूचना जारी नभएसम्म जलमार्ग बन्द रहने जनाएको छ।
आईआरजीसीका अनुसार एक संदिग्ध जहाजले आफ्नो प्रणाली बन्द गरेर समुद्री सुरक्षामा खतरा उत्पन्न गरेपछि त्यसलाई रोकिएको थियो। साथै, केही अन्य जहाजहरूले पनि अनुमति नलिई जलमार्गमा प्रवेश गर्न खोज्दा चेतावनीको बेवास्ता गरेको दाबी इरानले गरेको छ।
इरानले हर्मुज स्ट्रेट बन्द गर्ने निर्णयविरुद्ध कुनै पनि सैन्य कदम चालिए त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ। साथै, क्षेत्रमा रहेका शत्रु देशका नयाँ सैन्य संरचनाहरूलाई निशाना बनाउने चेतावनीसमेत दिएको छ।
यसको प्रतिक्रियामा अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले हर्मुज क्षेत्रमा इरानी गतिविधिको विरोध गर्दै जवाफी कारबाही सुरु गरेको जनाएको छ। सेन्टकमले साइप्रसको झण्डा बोकेको कन्टेनर जहाज ‘एमभी जीएफएस ग्यालेक्सी’ माथि इरानी बलले आक्रमण गरेको आरोप लगाएको छ। उक्त घटनामा एक नागरिक चालक दलका सदस्य बेपत्ता भएको बताइएको छ।
यो तनाव यसअघि पाकिस्तानको मध्यस्थतामा भएको भनिएको ‘इस्लामावाद समझदारी’ पछि केही समय शान्त देखिएको थियो। उक्त समझदारीले युद्धविराम र हर्मुज स्ट्रेट पुनः खुलाउने प्रयास गरेको थियो। तर पछिल्ला दिनमा अमेरिका र इरानबीच पुनः सैन्य तनाव बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता समाप्त भएको बताएका छन्।
यसैबीच, इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्युको बदला लिने प्रतिबद्धता व्यक्त गरेको दाबी गरिएको छ। उनले जारी गरेको लिखित सन्देशमा घटनासँग सम्बन्धित व्यक्तिहरूको विवरण सुरक्षित रहेको उल्लेख गरेका छन्।
अली खामेनीको मृत्यु इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा भएको इरानी दाबीपछि मोज्तबाको यस्तो भनाइ आएको हो। यद्यपि, उनको सार्वजनिक उपस्थितिबारे विभिन्न प्रश्न उठिरहेका बेला यो सन्देश सार्वजनिक भएको हो।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट आफूविरुद्ध कुनै हत्याको प्रयास भए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत इरानविरुद्ध कडा प्रतिक्रिया जनाउँदै अमेरिकी सेनालाई आवश्यक कदमका लागि तयार अवस्थामा राखिएको बताएका छन्।
हर्मुज स्ट्रेटजस्तो विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्ग बन्द हुनु र अमेरिका–इरानबीच बढ्दो सैन्य चेतावनीले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको देखिएको छ। यस घटनाले विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय कूटनीतिमा समेत ठूलो प्रभाव पार्न सक्ने चिन्ता बढाएको छ।
प्रतिक्रिया दिनुहोस