काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले योजनाबद्ध रूपमा मिडिया हाउस र विभिन्न कार्यालयअगाडि सवारीसाधन पार्किङ गराएर अवरोध सिर्जना गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो कार्य सरकारकै निर्देशनमा भइरहेको दाबी गरे।
‘अर्काको घरको अगाडि, कार्यालय अगाडि, मिडिया हाउस अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्छ। ती गाडी सकुशल फकाइन्छन्, कुनै कारबाही हुँदैन। किनभने निर्देशित ढंगबाट ती काम सरकारले लगाएको छ, अनि कसरी कारबाही हुन्छ ?’ उनले भने।
ओलीले यस्ता गतिविधिले जनताको सहिष्णुतामाथि खेलवाड गरेको आरोप लगाउँदै यसलाई ‘फासिजम’ को संज्ञा दिए।
‘यो फासिजम हो। यस्तो पनि हुन्छ सरकार ? यस्तो पनि हुन्छ राज्य ?’ उनले प्रश्न गरे।
त्यस्तै, उनले अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले अत्याचार गरेको आरोप पनि लगाए। शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्दा पनि दमन गरिएको उल्लेख गर्दै ओलीले वर्तमान सरकारको व्यवहारलाई ‘तानाशाहीभन्दा पनि बढी तानाशाही’ भएको टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस