रौतहटमा एउटा ट्रकले दुई बसलाई ठक्कर दिँदा आठजना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–४, दोस्रो लाच्कास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा ट्रकले दुई यात्रुवाहक बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
शनिबार (साउन २) जनकपुरबाट रौतहटतर्फ आउँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतिर जाँदै गरेको बा.प्र.०३–००१ ख ५२८४ नम्बरको बसलाई ठक्कर दिएको थियो । सोही स्थानमा उक्त ट्रकले काठमाडौंबाट धरानतिर नै जाँदै गरेको बा.प्र.०३–००१ ख ३६६० नम्बरको बसलाई पनि ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करपछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो । दुर्घटनामा परी ट्रकका सहचालक धनुषाका ६० वर्षीय लालबहादुर तामाङसहित मकवानपुर, सुनसरी र मोरङका यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरूको उपचार विराटनगरस्थित नोबेल अस्पतालमा भइरहेको छ ।
उक्त ट्रकका चालक महोत्तरीको बर्दिबास नगरपालिकाका ३५ वर्षीय लालबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले मादकपदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस