काठमाडौं । भारतमा संसद् अधिवेशनको पहिलो दिन सोमबार संसद् परिसर तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। ककरोज जनता पार्टी (सीजेपी) ले आह्वान गरेको ‘संसद् चलो’ अभियानका कारण जन्तरमन्तरमा ठूलो संख्यामा समर्थकहरू भेला भएपछि संसद् क्षेत्रका विभिन्न प्रवेशद्वार बन्द गरिएका छन् भने व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सीजेपीका प्रवक्ता सौरभ दास र आशुतोष रंकाले आफ्ना मागहरूबारे छलफल गर्न केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डासँग भेट गरेका छन्। दासले सोमबार बिहान सरकारले वार्ताका लागि सम्पर्क गरेको दाबी गर्दै परीक्षा प्रणाली सुधारसम्बन्धी आफ्ना मागमा आफूहरू संवादका लागि तयार रहेको, तर त्यसको पहल सरकारकै तर्फबाट हुनुपर्ने बताएका छन्।
यता, वातावरण अभियन्ता सोनम वाङचुकले ‘संसद् चलो’ अभियानमा सहभागी हुन आफूलाई सफदरजंग अस्पतालबाट डिस्चार्ज गर्न माग गरेका छन्।
यसअघि संसद्तर्फ अघि बढ्न खोजेका प्रदर्शनकारीहरूलाई रोक्न प्रहरीले लाठीचार्ज गरेको थियो। प्रहरीका अनुसार जन्तरमन्तरबाहेकका अन्य क्षेत्रमा पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन तथा प्रदर्शन गर्न निषेधाज्ञा लागू गरिएको छ।
नीट प्रश्नपत्र चुहावटको मुद्दाले संसद् तात्यो
संसद् अधिवेशनको पहिलो दिन राज्यसभामा नीट परीक्षाको प्रश्नपत्र चुहावट र त्यसविरुद्ध जारी विद्यार्थी आन्दोलन प्रमुख विषय बनेको छ। विपक्षी दलको अवरोधका कारण राज्यसभाको बैठक पटक–पटक स्थगित गर्नुपरेको थियो।
कांग्रेस अध्यक्ष तथा राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खर्गेले लाखौँ विद्यार्थीको भविष्यसँग जोडिएको गम्भीर विषय भएकाले यसबारे सदनमा विस्तृत छलफल हुनुपर्ने माग गरे। उनले जन्तरमन्तरमा आन्दोलनरत विद्यार्थीमाथि बल प्रयोग गरिएको तथा उनीहरूको आवाज दबाउने प्रयास भएको आरोप पनि लगाए।
खर्गेको अभिव्यक्तिपछि विपक्षी सांसदहरूले नाराबाजी गरेपछि सभापति सी.पी. राधाकृष्णनले राज्यसभाको बैठक स्थगित गरेका थिए।
यही मुद्दालाई लिएर लोकसभामा पनि विपक्षी दलहरूले चर्को विरोध जनाउँदै नाराबाजी गरेपछि त्यहाँको बैठकसमेत केही समयका लागि अवरुद्ध भएको थियो।
प्रतिक्रिया दिनुहोस