२०८३, कार्तिक ५ गते

बुधवार, कार्तिक ५ गते २०८३

नारायणगढको शहीदचोकमा ट्राफिक लाइटको तार चोरी, सञ्चालनमा थप ढिलाइ

सोमवार, कार्तिक ३ २०८३०१:३०

चितवन । चितवनको नारायणगढ बजारस्थित शहीदचोकमा हालै जडान गरिएका ट्राफिक लाइटका केबल काटेर चोरी गरिएको छ। केबल चोरी भएपछि ट्राफिक लाइटको परीक्षण तथा सञ्चालन प्रक्रिया प्रभावित भएको छ।

केबल चोरी भएपछि ट्राफिक लाइट जडान गर्ने कम्पनीले प्रहरीमा उजुरी दिएको छ। नारायणगढको मुख्य चोकमै केबल काटेर चोरी गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ट्राफिक लाइट जडानको ठेक्का पाएको एभरेस्ट टु सी अमर ज्योति जेभीका सञ्चालक सुमन थापाका अनुसार केबल चोरी भएपछि सबै तार फेर्नुपर्ने अवस्था आएको छ।

‘यस्ता केबल नेपालमा पाइँदैनन् र काटिएको केबल जोडेर पनि काम गर्न सकिँदैन,’ उनले भने, ‘विदेशबाट केबल मगाउनुपर्ने भएकाले थप समस्या भएको छ।’ उनका अनुसार विदेशबाट केबल मगाएर जडान गर्न कम्तीमा एक महिना लाग्नेछ।

नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास रोडका छ प्रमुख चोकमा ट्राफिक लाइट जडान गरिएको छ। पुलचोक, शहीदचोक, चौबीसकोठी, हाकिमचोक, केन्द्रीय बस टर्मिनल र मालपोत चोकमा ट्राफिक लाइट राखिएको हो।

सवारी चाप बढी भएका र दुर्घटनाको जोखिम रहेका स्थानमा ट्राफिक लाइट जडान गरिएको हो। यसका लागि छ मिटरको आर्म भएका सात मिटर अग्ला भेहिकल पोल तथा पैदलयात्रीका लागि पेडेस्ट्रियन पोल प्रयोग गरिएको छ।

गत वर्ष नै सम्पन्न हुनुपर्ने ट्राफिक लाइट जडानको काम जेनजी आन्दोलन र निर्वाचनका कारण ढिलाइ भएको थियो। सडक फराकिलो बनेपछि सवारी व्यवस्थापनमा समस्या हुँदै आएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी आवागमन व्यवस्थापनमा सहज हुने बताए। उनका अनुसार ट्राफिक लाइटको ब्याकअप तथा सेटिङ जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै हुनेछ। बत्तीको सञ्चालन र अनुगमन कार्यालयको कन्ट्रोल रुमबाट कम्प्युटर प्रविधिमार्फत गरिनेछ। कुन चोकमा कति समयसम्म बत्ती बाल्ने भन्ने नियन्त्रण पनि त्यहीँबाट हुनेछ।

भरतपुर महानगरपालिकाका छवटा चोकमा ट्राफिक लाइट जडान गर्न २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित एक करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८२ चैत २० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो।

निर्धारित समयमा काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनीलाई दैनिक पाँच हजार रुपैयाँका दरले जरिवाना तिराउँदै निर्माण कार्य अघि बढाइएको थियो। केबल चोरी भएपछि भने ट्राफिक लाइटको परीक्षण र सञ्चालनमा थप ढिलाइ हुने भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij