काठमाडौं । साउदी अरेबियामा विकसित पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै एयर इन्डियाले रियाद, दम्माम र जेद्दाबाट हुने आफ्ना सबै उडान अक्टोबर २०, २०२६ सम्मका लागि रद्द गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै एयरलाइन्सले सुरक्षा अवस्थालाई नजिकबाट नियालिरहेको र उडान सुरक्षित रूपमा पुनः सञ्चालन गर्न निरन्तर मूल्याङ्कन गरिरहेको जनाएको छ।
एयर इन्डियाका अनुसार उडान रद्द हुँदा प्रभावित यात्रुलाई टिकटको पूर्ण रकम फिर्ता गर्ने व्यवस्था गरिएको छ। यात्रु तथा उडान टोलीको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता रहेको पनि कम्पनीले स्पष्ट पारेको छ।
यसअघि साउदी अरेबियास्थित भारतीय दूतावासले त्यहाँ रहेका भारतीय नागरिकलाई स्थानीय प्रशासनको निर्देशन पालना गर्न र हवाई आक्रमणको जोखिम भएका बेला घरभित्रै सुरक्षित रहन आग्रह गरेको थियो।
दूतावासले साउदी अरेबियाबाट तत्काल बाहिरिनुपर्ने अवस्था भएका भारतीय नागरिकलाई बहराइन, कुवेत र कतारलगायत छिमेकी मुलुकबाट हुने उडानको विकल्प विचार गर्नसमेत सुझाव दिएको छ।
यसैबीच, हालै इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाको एक अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु हुनुका साथै १० जना घाइते भएको विवरण सार्वजनिक भएको छ।
पछिल्लो सुरक्षा परिस्थितिका कारण साउदी अरेबियामा हवाई यातायात प्रभावित भएको छ। एयर इन्डियाले अवस्था अनुकूल भएपछि उडान पुनः सञ्चालन गर्ने विषयमा निर्णय लिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस