चेतन राई, भोजराज काफ्लेलगायत राष्ट्रिय कलाकारले दिए बेजोड प्रस्तुति, सांगीतिक माहोलमा रमाए दर्शक
काठमाडौं : दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव २०८३ अन्तर्गत आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुतिले महोत्सवस्थल संगीतमय बनेको छ। चर्चित गायक रामकृष्ण श्रेष्ठ र गायिका सन्तोषी कार्कीको प्रस्तुतिमा दर्शकहरू गीत–संगीतसँगै झुमेका थिए।
थली चौरमा जारी महोत्सवमा रामकृष्ण श्रेष्ठ र सन्तोषी कार्कीले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। उनीहरूको सांगीतिक प्रस्तुतिमा दर्शकहरू नाच्दै, गाउँदै र रमाउँदै कार्यक्रमको आनन्द लिएका थिए।
त्यसैगरी, गायक चेतन राई, भोजराज काफ्ले, जितु लोप्चन, याफर तामाङलगायत अन्य राष्ट्रिय कलाकारहरूले पनि आ–आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए। विभिन्न विधा र शैलीका गीत–संगीतले महोत्सवको माहोललाई थप उत्साहपूर्ण र मनोरञ्जनात्मक बनाएको थियो।
कलाकारहरूको प्रस्तुति अवलोकन गर्न स्थानीय बासिन्दासहित विभिन्न क्षेत्रबाट दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। दर्शकहरूको उत्साहपूर्ण सहभागिता र कलाकारहरूको आकर्षक प्रस्तुतिले महोत्सवको रौनक थप बढाएको थियो।
स्थानीय कला, संस्कृति, पर्यटन तथा व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव श्री सांस्कृतिक मेला महोत्सव तथा बाल उद्यान सञ्चालन केन्द्र प्रा.लि.को आयोजनामा सञ्चालन भइरहेको छ। महोत्सवका आयोजक दीपक दाहाल रहेका छन् भने कार्यक्रमको सभापतित्व सीताराम दाहालले गर्दै आएका छन्।
कात्तिक ९ गतेदेखि सुरु भएको महोत्सव कात्तिक १९ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा सांस्कृतिक कार्यक्रमका अतिरिक्त विभिन्न व्यापारिक स्टल, मनोरञ्जनात्मक गतिविधि तथा बाल उद्यानका आकर्षणहरू पनि राखिएका छन्।
आयोजकले महोत्सवका आगामी कार्यक्रमहरूमा सहभागी भई स्थानीय कला, संस्कृति र व्यापारको प्रवर्द्धनमा साथ दिन स्थानीयवासी तथा सम्पूर्ण दर्शकलाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस