अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विषय सुल्झाएपछि अमेरिकाले क्युबामा ध्यान दिने बताएका छन् । उनले क्युबासँग सम्झौता टुंग्याउन अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पठाउने सङ्केतसमेत गरेका छन् ।
यसैबीच, विदेशमन्त्री रुबियोले सामाजिक सञ्जाल एक्समार्फत क्युबामा परिवर्तन चाहनेहरूलाई त्यसका लागि अघि बढ्न आह्वान गरेका छन् । उनले क्युबामा सकारात्मक परिवर्तन ल्याउन चाहनेहरूका लागि अहिले उपयुक्त समय भएको बताएका छन् ।
‘क्युबामा सकारात्मक परिवर्तन ल्याउन चाहनेहरूका लागि अब सही समय हो,’ रुबियोले एक्समा लेखेका छन् ।
उनले क्युबाको सरकारका अधुरा आश्वासन, भ्रष्टाचार र सीमित व्यक्तिले मात्रै विशेष सुविधा पाएको अवस्थाप्रति असन्तुष्ट रहेकाहरूलाई सीआईएसँग गोप्य रूपमा सहकार्य गरेर आफूले चाहेको परिवर्तन ल्याउने अवसर उपयोग गर्न आग्रह गरेका छन् ।
यसैबीच, अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) ले सामाजिक सञ्जालमा स्पेनी भाषामा एउटा भिडियो सार्वजनिक गरेको छ । भिडियोमा क्युबाका नागरिकलाई भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) र अस्थायी इमेल प्रयोग गरेर सुरक्षित रूपमा सूचना साझा गर्न निर्देशन दिइएको छ ।
क्युबाका उपविदेशमन्त्री कार्लोस फर्नान्डिज डि कोसियोले अमेरिकाको कदमको आलोचना गर्दै त्यसलाई अमेरिकी पक्षको ‘हताशा र लाचारी’ का रूपमा टिप्पणी गरेका छन् ।
उनले अमेरिकाले सार्वजनिक रूपमै सीआईएका लागि मानिस भर्ती गरिरहेको आरोप लगाएका छन् । अमेरिकाले टुथपेस्ट बिक्री गरेजस्तै गरी मानिस भर्ती गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस