प्रतिनिधिसभा सदस्य बलावती शर्माले भोटेकोशी बाढीपीडित तथा विस्थापित नागरिकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्याप्त रकम हुँदाहुँदै पनि पीडितले राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सांसद शर्माका अनुसार बाढी प्रभावित परिवारले सरकारले उपलब्ध गराउने भनेको घरभाडाबापतको १५ हजार रुपैयाँसमेत हालसम्म पाएका छैनन्।
‘दसैँ आयो, तिहार पनि सकियो, सँगसँगै जाडो पनि आइसक्यो,’ उनले भनिन्, ‘कोषमा १८ अर्ब रुपैयाँ छ, पैसा छैन भन्ने अवस्था पनि छैन। तर, पीडितलाई रकम किन वितरण भइरहेको छैन ?’
सरकारको ध्यान अन्य अनावश्यक काममा गएको तर बाढीपीडितको समस्याप्रति बेवास्ता गरिएको उनको आरोप छ।
उनले बाढीपीडितसँगै होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिन्। विस्थापित परिवारका बालबालिकाले विद्यालय जान पाए–नपाएको तथा ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य अवस्थाबारे सरकार बेखबर रहेको उनले बताइन्।
यो विषय प्रत्यक्ष रूपमा मानवअधिकारसँग जोडिएको उल्लेख गर्दै सांसद शर्माले संसदीय समितिले होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरी पीडितको वास्तविक अवस्था बुझ्नुपर्ने मागसमेत गरिन्।
प्रतिक्रिया दिनुहोस