चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ।
बुधबार बसेको सरकारी निर्णयअनुसार शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो।
समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन्।
चिकित्सा शिक्षा आयोगले आवश्यक पूर्वाधार र कानुनी मापदण्ड पूरा नगरी एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने तथा विद्यार्थी भर्ना सिट वृद्धि गर्ने निर्णय गरेको भन्दै डा. केसी अनशनमा बसेका छन्।
उनले आयोगको उक्त निर्णय खारेज गर्न माग गर्दै आएका छन्। साथै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष र मेडिकल विश्वविद्यालयका पदाधिकारीहरूबीच स्वार्थको द्वन्द्व रहेको आरोपसमेत लगाएका छन्।
डा. केसीले उठाएका माग सम्बोधन गर्न सरकारले वार्ता समिति गठन गरेसँगै अब सरकार र उनीबीचको वार्ता प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस