काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ठूलो आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरिएका ५२ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवतजावत गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले सवारीसाधनमाथि निगरानी तथा चेकजाँच तीव्र पारेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएका टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने मोटरसाइकल फेला पारेका थिए।
ती मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
प्रहरीले चाडपर्वका समयमा ध्वनि प्रदूषण तथा सवारीसाधनबाट हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न निगरानी थप कडा बनाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस