२०८३, कार्तिक २६ गते

बुधवार, कार्तिक २६ गते २०८३

मधेसमा छठको चहलपहल, पूजाका सामग्री र चुल्हो बनाउन व्रतालु व्यस्त

बुधवार, कार्तिक २६ २०८३१२:५९

मधेस । लोकआस्था, श्रद्धा र निष्ठाको महापर्व छठ नजिकिएसँगै मधेसका गाउँबस्तीमा धार्मिक तथा सांस्कृतिक चहलपहल बढेको छ। पर्वको तयारीमा व्रतालु तथा परिवारका सदस्यहरू बिहानैदेखि पूजाका सामग्री जुटाउन र आवश्यक व्यवस्थापन गर्न व्यस्त भएका छन्।

छठको तयारीअन्तर्गत बुधबार बिहान व्रतालुहरूले सामूहिक रूपमा गाईको गोबरबाट तयार पारिएको गोधन कुट्दै परम्परागत छठ गीत गाएका छन्। यस क्रममा दाजुभाइको दीर्घायु तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै महाप्रसाद पकाउन नयाँ माटोको चुल्हो निर्माणसमेत गरिरहेका छन्।

मधेसका गाउँबस्तीमा छठका लागि सामूहिक रूपमा माटोको नयाँ चुल्हो बनाउने पुरानो परम्परा छ। छठमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले चुल्हो निर्माणदेखि प्रसाद तयार पार्नेसम्मका काम धार्मिक विधिअनुसार गरिन्छ। करिब सात दशकदेखि छठ व्रत बस्दै आएकी पर्साको गढीमाई–४ की ८५ वर्षीया शान्तिदेवीका अनुसार छठ सामाजिक सद्भाव, सहयोग र एकताको पर्व पनि हो।

छठको प्रमुख विधि शुक्रबारदेखि ‘नहाय–खाय’ बाट सुरु हुनेछ। यस दिन व्रतालुहरूले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्नेछन्। शनिबार ‘खरना’ विधिअन्तर्गत नयाँ माटोको चुल्होमा खीर, पुरीलगायतका प्रसाद तयार गरी पूजा गरिनेछ। खरनापछि व्रतालुहरूको निर्जला उपवास सुरु हुनेछ।

आइतबार साँझ व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा बनाइएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। त्यसपछि रातभर छठीमाताको भजनकीर्तन र जाग्राम बसेर सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिनसम्म चल्ने छठ पर्व सम्पन्न हुनेछ।

यसैबीच, छठघाटको सरसफाइ तथा सजावटको काम पनि तीव्र पारिएको छ। केराका थम्बा, फूलमाला, बत्ती तथा बाँसका सुप, ढाकी र परम्परागत पूजासामग्रीले घाट सजाउने तयारी भइरहेको छ।

पण्डित जयप्रकाश मिश्रका अनुसार छठ पर्वमा शुद्धता, संयम, सत्यता र निष्ठालाई विशेष महत्त्व दिइन्छ। मन, वचन र कर्मले शुद्ध भएर गरिने यस पूजामा परिवारका सदस्यको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ।

छठ पर्व धार्मिक अनुष्ठानमा मात्र सीमित नभई प्रकृतिप्रतिको सम्मान, पारिवारिक एकता र सामाजिक सद्भावको प्रतीकसमेत हो। अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिने यस पर्वले मधेसको मौलिक संस्कृति र पहिचानलाई उजागर गर्दै आएको छ। अहिले मधेसका गाउँबस्तीमा छठका परम्परागत गीत गुञ्जिन थालेका छन् भने घरआँगनदेखि जलाशयसम्म सरसफाइ र सजावटको चटारो बढेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij