काठमाडौं । काठमाण्डौमा सम्पन्न दशौ म्युजिक खबर म्युजिक अवार्डमा ‘कौवा करायो’ बोलको गीतका लागि गीतकार रमेश दहाललाई उत्कृष्ट पप गीतकारको अवार्ड प्रदान गरिएको छ । विगत तिन दशकदेखि नेपाली मुलधारको गीत लेखनमा सकृय दहाल आधुनिक, पप तथा राष्ट्रभाव विधाका गीत लेख्छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डको दशौं संस्करणमा प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरिदा गायक भोजराज काफ्ले र निशा देशारलाई दशकको संगीत सम्मान अर्पण गरियो । गायिका मनिषा पोखरेललाई युवा प्रतिभा सम्मान र बाल गायिका आयुषा गौतमलाई बालप्रतिभा प्रोत्साहन सम्मान अर्पण गरियो ।
कार्यक्रममा पप गीत लेखनमा अवार्ड प्राप्त गर्न सफल दहालका सयौ हिट गीत आएका छन् भने उनका एकपछि अर्को उत्कृष्ट गीत आइरहेका छन् । रेडियो नेपाल, गीतकार संघ नेपाल, इमेज अवार्ड, सगरमाथा अवार्ड, लगायत दर्जन अधिक राष्ट्रिय स्तरका अवार्ड प्राप्त गरीसकेका दहालले यस अघि पनि म्युजिक खबर म्युजिक अवार्डको आठौ श्रृङ्खलामा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियशी’ बोलको उत्कृष्ट राष्ट्रभावको गीतका लागि अवार्ड प्राप्त गरेका थिए ।
वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई १० हजार नगद सहित म्यूजिक खबर कला पत्रकारिता सम्मान प्रदान गरियो भने पत्रकार चन्द्रमणि गौतमलाई रेडियोकर्मी सम्मान अर्पण गरियो । गीतकार राम अबिरल र राम चन्द्र ढकाललाई म्यूजिक खबर स्रष्टा सम्मान अर्पण गरियो ।
अवार्डमा गायिका रिता केसी र गायक प्रकाश तिमिल्सिना उत्कृष्ट गायक गायिका छनौट भए भने पप गायन महिलामा सोफिया थापाले अवार्ड चुमिन् ।
अवार्डमा गायक तथा संगीतकार अशोक राईको संयोजनमा मेचीदेखि महाकालीसम्मका मौलिक धूनहरु प्रस्तुत गरिए । जसमा बाँसुरीमा धनबहादुर गुरुङ, तबलामा भरत बुढाथोकी, मादलमा षोषण घर्ती, अनिल थापा, सारङ्गीमा सूर्य पूर्वछाने मगर, बाँसुरी गोपाल देव, ट्ङ्गनामा छेवाङ्ग तेन्जिङ लामा र प्रभात लामाले वाद्यवादनमा साथ दिएका थिए ।
गायक रामकृष्ण ढकाल, शंकर बिसी, लोसिना लामिछाने, रुविना बसेल, आयुषा गौतमले प्रस्तुती दिएका थिए । त्यस्तै गायक राजु गुरुङ, गायिका देवी घर्ती, सरोज लामिछाने, टंक तिमिल्सिनाले मौलिक गायन प्रस्तुति दिए । आयोजक कमिटि, सल्लाहकार, प्रायोजक लगायतलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो ।
शुभकामना मेडिया सोलुसनको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न विधामा ख्यातिप्राप्त विज्ञहरु जुरीको भूमिका थिए । यहि बैसाख १५ गते राजधानीमा सम्पन्न यस राष्ट्रिय स्तरको अवार्ड कार्यक्रममा देशैभरिका ४० विधाका सयौ कलाकारको सहभागिता थियो भने ५०० अधिक दर्शकको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस