गृहमन्त्री सुधन गुरुङ आगामी साता भारत भ्रमणमा जाने भएका छन्। गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीका अनुसार गुरुङ असोज २६ गते नयाँदिल्ली प्रस्थान गर्नेछन्। गृहमन्त्री नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमण हो।
गुरुङले असोज २७ गते नयाँदिल्लीमा आयोजना हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागिता जनाउनेछन्।
भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले बिमस्टेक सदस्य राष्ट्रका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको नेपाली अधिकारीहरूले बताएका छन्। उनले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।
यसअघि सन् २०१८ को अगस्ट ३० र ३१ मा काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा सदस्य राष्ट्रका नेताहरूले कानुन कार्यान्वयन, गुप्तचर तथा सुरक्षा निकायबीच सहकार्य र समन्वय सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
क्षेत्रीय सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेका बेला बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठक नयाँदिल्लीमा आयोजना हुन लागेको हो। बैठकमा सदस्य राष्ट्रबीच सुरक्षा, कानुन कार्यान्वयन तथा अन्तरदेशीय अपराध नियन्त्रणमा सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस