२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकट सेवा सुरु, घरबाटै टिकट काटेर घुम्न सकिने

शुक्रवार, आश्विन ३० २०८३१०:१८

चितवन । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने विद्युतीय टिकट (इ–टिकटिङ) प्रणाली सुरु गरेको छ । नयाँ व्यवस्थासँगै पर्यटकले घरबाटै टिकट काटेर निकुञ्ज प्रवेश प्रक्रिया पूरा गर्न सक्ने भएका छन् ।

पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ । यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ । यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो । नयाँ प्रणालीले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।

बिहीबार चितवन क्षेत्र नं. १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले इ–टिकटिङ प्रणालीको उद्घाटन गरेका हुन् ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पुनले इ–टिकटिङ सुरु गर्न प्रशासनले लामो समयदेखि प्रयास गर्दै आएको बताए । शिवपुरी राष्ट्रिय निकुञ्जमा यो प्रणाली सुरु भएपछि चितवनमा पनि यसको आवश्यकता थप महसुस गरिएको उनको भनाइ छ ।

उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जको कुल राजस्वको ७० देखि ७५ प्रतिशत सौराहा क्षेत्रबाट सङ्कलन हुने गरेको छ । सोही अनुपातमा पर्यटक पनि यस क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने भएकाले सौराहामा इ–टिकटिङ आवश्यक देखिएको उनले बताए ।

नयाँ प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिन निकुञ्जको फेसबुक पेज र वेबसाइटमा ट्युटोरियलसमेत राखिने उनले जानकारी दिए ।

सांसद ढकालले पर्यटन व्यवसायी र आफ्नो निरन्तरको पहलपछि सौराहामा इ–टिकटिङ प्रणाली सुरु गर्न सम्भव भएको बताए । दोस्रो कार्यकालको पदभार सम्हालेपछि पछिल्लो छ महिनादेखि यस विषयमा नियमित पहल गर्दै आएको उनले उल्लेख गरे ।

उनले प्रविधिको प्रयोगमा सुरुमा केही अन्योल देखिन सक्ने भए पनि प्राविधिक समस्या समाधान गर्दै प्रणालीलाई थप व्यवस्थित र व्यावहारिक बनाउनुपर्नेमा जोड दिए । साथै, पर्यटक तथा पर्यटन व्यवसायीका सुझाव समेटेर इ–टिकटिङलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

टिकटिङ प्रणालीमा पर्यटन व्यवसायीको संरक्षणप्रतिको योगदान र प्रतिबद्धता झल्किने विवरणसमेत समावेश गर्न सके स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्न सहयोग पुग्ने उनले बताए । निकुञ्ज प्रवेशका लागि काटिएको टिकट एक दिन मात्रै मान्य हुने व्यवस्थालाई परिवर्तन गरी तीन दिनसम्म प्रयोग गर्न मिल्ने बनाउन पहल भइरहेको पनि उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जमा सौराहा, कसरा, घटगाई, मेघौली, बनकट्टा, माडी, कुजौली, नवलपरासी र अमलटारीलगायत नाकाबाट पर्यटक प्रवेश गर्छन् । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालनमा छन् ।

निकुञ्जमा पर्यटकहरू एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्तीलगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न आउने गर्छन् ।

निकुञ्ज कार्यालयका अनुसार प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति प्रतिदिन १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकले एक हजार रुपैयाँ र अन्य विदेशी पर्यटकले दुई हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ । पर्यटक बोक्ने जिपले निकुञ्जमा एकपटक प्रवेश गर्दा पाँच हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

इ–टिकटिङ प्रणालीअन्तर्गत पर्यटकले आवश्यक विवरण भरेर प्रक्रिया पूरा गरेपछि क्यूआर कोड प्राप्त गर्नेछन् । सोही कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिने कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ३१ हजार ३२९ थियो ।

निकुञ्जले गत आर्थिक वर्षमा पर्यापर्यटनबाट २७ करोड ६३ लाख ३९ हजार ९५० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij