२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, एक सातामै सकियो निर्वाचन प्रक्रिया

शुक्रवार, आश्विन ३० २०८३११:१९

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ।

मधेस र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि सुरु भएको सबै पदको मतगणना सकिएको हो।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितका तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सम्पन्न भएको थियो।

त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारूतर्फको मतगणना पनि राति अबेर सकिएको उनले जानकारी दिए। सबै मतपरिणाम रुजु गर्ने काम भइरहेकाले केही बेरमै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको उनको भनाइ छ। अन्य पदको मतगणना भने यसअघि नै सम्पन्न भइसकेको थियो।

गत असोज २३ गते मतदान सम्पन्न भएपछि सोही दिन रातिदेखि सभापति पदको मतगणना सुरु गरिएको थियो। राष्ट्रिय सभागृहमा गरिएको सभापति पदको मतगणनाको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो।

अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो।

निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। तर, यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ।

उनका अनुसार मतगणना सुरु भएकै दिनदेखि दिन र रात गरी झन्डै २५ समूह बनाएर गणना गरिएको थियो। मतदान तथा मतगणनाका क्रममा कुनै विवाद उत्पन्न नभएको र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको उनले बताए।

यस पटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।

अघिल्लो महाधिवेशनको तुलनामा यस पटकको मतगणना दोब्बरभन्दा बढी छिटो सम्पन्न भएको निर्वाचन समितिका सदस्य सचिव कटुवालको दाबी छ।

उनका अनुसार निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी गरिएको छ। त्यसपछि नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन्। उक्त बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा रणनीतिबारे खाका बनाउने तयारीसमेत भइरहेको जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij