२०८३, कार्तिक ४ गते

मंगलवार, कार्तिक ४ गते २०८३

हालान्डको दुई गोलमा सिटी विजयी, लिभरपुल र चेल्सीको पनि जित

आइतवार, कार्तिक २ २०८३११:४७

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीले जित निकालेका छन्। एर्लिङ हालान्डको दुई गोलमा सिटीले इप्सविच टाउनलाई ३–२ ले पराजित गर्दा लिभरपुलले ब्रेन्टफोर्डलाई २–१ र चेल्सीले एभर्टनलाई २–० ले हराएको छ। अर्को खेलमा फुलहमले हल सिटीलाई १–० ले पराजित गर्दै सिजनको पहिलो जित निकालेको छ।

एर्लिङ हालान्डले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा इप्सविच टाउनलाई ३–२ ले पराजित गरेको छ।

घरेलु मैदानमा जितसँगै सिटीले लिगमा आफ्नो शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ। साताको मध्यमा च्याम्पियन्स लिगमा पिएसजीसँग पराजित भएको सिटीले जितपछि दोस्रो स्थानको आर्सनलमाथि ६ अंकको अग्रता बनाएको छ। आर्सनलले भने आइतबार नटिङहम फरेस्टसँग खेल्न बाँकी छ।

सिटीका लागि फिल फोडेनले १९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसको दुई मिनेटपछि नै डाइजन माइदाले गोल गर्दै इप्सविचलाई खेलमा फर्काए।

३४औँ मिनेटमा मातेओ कोभासिचको क्रसमा हालान्डले हेडरमार्फत गोल गरेपछि सिटीले पहिलो हाफमा २–१ को अग्रता बनायो।

दोस्रो हाफमा पनि सिटीले आक्रमणलाई निरन्तरता दियो। खेलको ६९औँ मिनेटमा इलिमान एनडियायेको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ३–१ ले अघि बढ्यो।

हालान्डले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरेको देखिए पनि गोल हुनुअघिको खेलमा एन्जो फर्नान्डेज अफसाइडमा रहेपछि उक्त गोलले मान्यता पाएन।

खेलको ९०औँ मिनेटमा जियान फ्लेमिङले पेनाल्टीमा गोल गर्दै इप्सविचलाई खेलमा फर्काउने प्रयास गरे। मार्क गेहीले अब्दुल फातावुमाथि पेनाल्टी क्षेत्रमा फाउल गरेपछि भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षामार्फत इप्सविचले पेनाल्टी पाएको थियो।

अन्तिम समयमा इप्सविचले दबाब बढाए पनि सिटीले अग्रता जोगाउँदै तीन अंक हात पार्‍यो।

अलेक्जान्डर इसाकले चोटमुक्त हुँदै फर्किएपछि निर्णायक गोल गरेसँगै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको छ।

शनिबार ब्रेन्टफोर्डको मैदानमा घरेलु टोलीले ४४औँ मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। खेलको अन्त्यतिर ब्रेन्टफोर्ड नौ खेलाडीमा सीमित भएको थियो।

४४औँ मिनेटमा केन लुइस–पोटरले इगोर थियागोको क्रसमा गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए। तर, पहिलो हाफको इन्जुरी समयमा जेरेमी ज्याकेटमाथि टाउकोले प्रहार गरेपछि येहोर यार्मोलियुकले सिधै रातो कार्ड पाए।

दोस्रो हाफमा एक खेलाडी बढी भएको फाइदा उठाउँदै लिभरपुलले खेलमा पुनरागमन गर्‍यो। ६२औँ मिनेटमा फ्लोरियन विर्ट्जको पासमा भिक्टर मुनोजले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

त्यसको आठ मिनेटपछि इसाकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। एलेक्सिस म्याक एलिस्टरको पासमा ब्राड्ली बार्कोलाले हेडमार्फत बल इसाकका लागि मिलाएका थिए। इसाकले बायाँ खुट्टाले गरेको प्रहार गोलरक्षक काओइमिन केलेहरलाई छक्याउँदै गोलमा परिणत भयो।

खेलको अन्त्यतिर बार्कोलाको प्रहार क्रसबारमा लागेर फर्कियो। इन्जुरी समयमा लिभरपुलका वैकल्पिक खेलाडी रियो एन्गुमोहामाथि फाउल गरेपछि ब्रेन्टफोर्डका कप्तान भिटाली यानेल्टले दोस्रो पहेँलो कार्ड पाए। त्यससँगै घरेलु टोली नौ खेलाडीमा सीमित भयो।

जितपछि लिभरपुल तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। ब्रेन्टफोर्ड भने एक स्थान तल रहँदै लिभरपुलभन्दा दुई अंकले पछाडि छ।

पेड्रो नेटोले दोस्रो हाफमा दुई गोल गरेपछि चेल्सीले इंग्लिस प्रिमियर लिगमा एभर्टनलाई २–० ले हराएको छ। शनिबार एभर्टनको मैदान हिल डिकिन्सन स्टेडियममा जित निकाल्दै चेल्सीले घरेलु टोलीको अपराजित यात्रा टुंग्याएको हो।

पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। एभर्टनका थियर्नो ब्यारीको हेडर चेल्सीका गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए भने चेल्सीका मोइसेस काइसेडोको प्रहार क्रसबारमा लागेर फर्कियो।

दोस्रो हाफ सुरु भएको ४३ सेकेन्डमै नेटोले चेल्सीलाई अग्रता दिलाए। जोरेल हाटोले बायाँ भागबाट दिएको बल नियन्त्रणमा लिँदै नेटोले गोलरक्षक जोर्डन पिकफोर्डलाई बिट गरे।

खेलको अन्तिम समयमा नेटोले व्यक्तिगत दोस्रो गोल थपे। ९०औँ मिनेटमा जोर्डन हेन्डरसनको फ्रिकिक विपक्षी खेलाडीको वालमा लागेर फर्किएपछि एभर्टनले बल क्लियर गर्न सकेन। त्यसको फाइदा उठाउँदै नेटोले बललाई पोस्टको तल्लो बायाँ कुनामा पुर्‍याए।

दोस्रो हाफमा चेल्सीले खेलमा आफ्नो पकड कायम राख्यो। चोटका कारण ७५औँ मिनेटमा मार्टिनेज मैदानबाट बाहिरिएपछि माइक पेन्डर्सले गोलपोस्टको जिम्मेवारी सम्हाले। तर, एभर्टनले गोल फर्काउन सकेन।

जितसँगै चेल्सीले यस सिजन पहिलो पटक क्लिन सिट राखेको छ। चेल्सी अंकतालिकाको चौथो स्थानमा उक्लिँदा एभर्टन छैटौँ स्थानमा झरेको छ।

एलेक्स इवोबीको निर्णायक गोलमा फुलहमले इंग्लिस प्रिमियर लिगमा सिजनको पहिलो जित निकालेको छ। फुलहमले क्राभेन कटेजमा हल सिटीलाई १–० ले पराजित गरेको हो।

लिगका सुरुवाती ६ खेलमा जित निकाल्न नसकेको फुलहमलाई इवोबीले जित दिलाए। उनले खेलको सुरुवातमै गोलको अवसर बनाए पनि उनको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। त्यसपछि ३३औँ मिनेटमा उनले निर्णायक गोल गरे।

खेलमा फुलहमले लगातार दबाब बनाए पनि थप गोल गर्न सकेन। इवोबी, जोस किङ र ओस्कार बोबका प्रहार हलका गोलरक्षक कोन्स्टान्टिनोस जोलाकिसले रोके भने गोन्जालो गार्सियाको प्रहार पोस्टमा लागेर फर्कियो।

खेलको अन्तिम समयमा रायन सेसेगनले रोबिनियो भाजमाथि फाउल गरेपछि सोझै रातो कार्ड पाए। त्यसपछि हलले बराबरीका लागि प्रयास गरे पनि सफल हुन सकेन।

यस जितसँगै फुलहमले लिगमा पहिलो तीन अंक जोडेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij