काठमाडौं। रिबन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को छैटौँ संस्करणमा प्रतियोगी नम्बर १६ की बिनिता गुरुङले प्रतिष्ठित उपाधि जितेकी छन्। शनिबार कात्तिक १४ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित भव्य ग्रान्ड फिनालेमा गुरुङलाई विजेता घोषित गरिएको हो।
विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनात्मकता उजागर गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पहिचान स्थापित गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा प्रतियोगी नम्बर ११ की शिल्पा न्यौपाने महर्जनले ‘मिसेस नेपाल इन्टरनेसनल’ को उपाधि जितिन् भने प्रतियोगी नम्बर २० की क्रिस्टिना ज्ञवाली ‘मिसेस नेपाल कस्मो’ घोषित भइन्। त्यसैगरी, प्रतियोगी नम्बर ४ की रिचा शर्माले ‘एमएस नेपाल इन्टरनेसनल’ को उपाधि हात पारिन्।
प्रतियोगिताको फर्स्ट रनरअपमा प्रतियोगी नम्बर ८ की नेहा गुप्ता घोषित भइन्। त्यस्तै, प्रतियोगी नम्बर १७ की ज्योति लामिछाने सेकेन्ड रनरअप र प्रतियोगी नम्बर २ की सगुन खनाल थर्ड रनरअप बन्न सफल भए।
यसैबीच, ग्रान्ड फिनालेको विशेष आकर्षणका रूपमा नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड’ को उपाधिबाट सम्मानित गरिएको थियो। कार्यक्रममा सहभागी हुन नेपाल आएकी ‘मिसेस वर्ल्ड २०२५’ की विजेता थाइल्यान्डकी चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी) ले सिंहलाई ताज पहिर्याएकी थिइन् भने वरिष्ठ अभिनेता राजेश हमालले सम्मानपत्र प्रदान गरेका थिए।

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएकी सिंहलाई प्रदान गरिएको यस सम्मानले उनको कला यात्रा र चलचित्र क्षेत्रप्रतिको योगदानको कदर गरेको आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताकी विजेताको हातबाट ताज पहिरिने तथा नेपाली चलचित्रका वरिष्ठ अभिनेताबाट सम्मानपत्र प्राप्त गर्ने अवसरले कार्यक्रमलाई थप विशेष बनाएको थियो।
रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षता तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाको नेतृत्वमा प्रतियोगिता सम्पन्न भएको हो। रिबन इन्टरटेनमेन्टले सन् २०२१ देखि निरन्तर आयोजना गर्दै आएको यस प्रतियोगिताले विवाहित महिलाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन, व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिका लागि महत्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, चर्चित अभिनेत्री रेखा थापा तथा सन् २०२४ की विजेता डा. डेलिना कार्कीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू सहभागी थिए। निर्णायकहरूले प्रतियोगीहरूको प्रतिभा, व्यक्तित्व, आत्मविश्वास, प्रस्तुति, नेतृत्व क्षमता तथा समग्र प्रदर्शनका आधारमा मूल्यांकन गरेका थिए।
कार्यक्रममा विजेता तथा उपविजेताहरूलाई विभिन्न विधाका उपाधि र सम्मान प्रदान गरिएको थियो। आयोजक निशुकान्त झाले प्रतियोगिताले विवाहित महिलाहरूलाई आफ्नो क्षमता पहिचान गर्न, प्रतिभा प्रस्तुत गर्न र अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने अवसर सिर्जना गर्दै आएको बताए। आगामी दिनमा पनि महिलाको सशक्तीकरण, नेतृत्व विकास र प्रतिभा प्रवर्द्धनलाई केन्द्रमा राखेर प्रतियोगितालाई निरन्तरता दिने उनको भनाइ छ।
छैटौँ संस्करणसम्म आइपुग्दा ‘मिसेस नेपाल वर्ल्ड’ विवाहित महिलाहरूको प्रतिभा, आत्मविश्वास र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको छ।
प्रतिक्रिया दिनुहोस