धादिङ । भोटेकोशीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापित गर्न जिल्लाका १३ वटै स्थानीय तह एकजुट भएका छन्।
फुर्केखोलामा अस्थायी पन्टुन पुल ल्याएर सञ्चालन गर्ने र त्यसका लागि लाग्ने खर्च सबै पालिकाले साझा रूपमा व्यवस्थापन गर्ने सहमति भएको छ।
धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा बसेको जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको बैठकले पन्टुन पुल ल्याउने, जडान गर्ने र सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। बैठकले यसका लागि चारबुँदे समझदारीसमेत गरेको छ।
समझदारीअनुसार पुल ल्याउन, जडान गर्न र सञ्चालन गर्न आवश्यक खर्च अन्तरपालिका कार्यविधि बनाएर १३ वटै स्थानीय तहको सहमतिमा व्यवस्थापन गरिनेछ। पुल सञ्चालनका लागि आवश्यक अनुमति लिन सिँचाइ विभाग र बर्दियास्थित राजापुर सिँचाइ व्यवस्थापन कार्यालयसँग समन्वय गरिने भएको छ।
बर्दियाको राजापुर सिँचाइ आयोजनाअन्तर्गत रहेको पन्टुन पुल धादिङ ल्याउन आवश्यक समन्वयको जिम्मेवारी ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैलाई दिइएको छ। पुल जडानपछि पहुँच सडक निर्माण तथा अन्य भौतिक व्यवस्थापनका लागि पनि सम्बन्धित सरकारी निकायसँग समन्वय गरिनेछ।
यसअघि अध्यक्ष दनैसहितको पहलमा राजापुरस्थित पन्टुन पुलको प्राविधिक अवस्था अध्ययन गरिएको थियो। त्यसपछि प्राविधिक टोलीले फुर्केखोलामै पुगेर स्थलगत अध्ययन गरेको थियो। अध्ययनले फुर्केखोलामा पन्टुन पुल राखेर यातायात सञ्चालन गर्न सकिने निष्कर्ष निकालेपछि स्थानीय तहहरू संयुक्त योजनासहित अघि बढेका हुन्।
बैठकले अस्थायी पुल सञ्चालनसँगै फुर्केखोलामा स्थायी पक्की पुल निर्माणका लागि संघीय तथा प्रदेश सरकारसँग पहल गर्ने निर्णयसमेत गरेको छ।
भदौ १० गते आएको बाढीले फुर्केखोलासहित घाटबेँसी र जहरेका तीनवटा पक्की पुल बगाएको थियो। पुलहरू बगाएपछि धादिङबेँसीसहित जिल्लाका विभिन्न क्षेत्रका बासिन्दालाई मलेखु हुँदै पृथ्वी राजमार्गसम्म पुग्न कठिनाइ हुँदै आएको छ।
वैकल्पिक सडक प्रयोग गर्नुपर्दा यात्राको समय र खर्च बढ्नुका साथै दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामीको उपचार, कृषि उपजको बजारीकरण र व्यापार व्यवसायमा समेत असर परेको छ।
फुर्केखोलामा पन्टुन पुल सञ्चालनमा आएपछि जिल्लाको उत्तरी तथा मध्य भेगका बासिन्दालाई मलेखु हुँदै पृथ्वी राजमार्गसम्म आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस