काठमाडौं। सरकारले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत कात्तिक महिनाको पहिलो पाक्षिक पुरस्कार विजेता घोषणा गरेको छ।
सोमबार (कात्तिक १६) अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कात्तिक १ देखि १५ गतेसम्मका विजेता सार्वजनिक गरिएको हो। यस अवधिमा १५ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने एक जना उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।
कात्तिक ५ गते बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका जनकपुरका एक उपभोक्ताले बम्पर पुरस्कार जितेका हुन्। उनको करदाता नम्बर ०९८०४६५५८१७५ रहेको छ।
‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत गरिएको चिठ्ठा प्रक्रियाबाट विजेता छनोट गरिएको हो।
१० लाख रुपैयाँको बम्पर पुरस्कार जित्ने उपभोक्तालाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर बधाई दिएका थिए।
पुरस्कार घोषणा कार्यक्रममा क्रिकेट खेलाडी ललितनारायण राजवंशीसमेत उपस्थित थिए।
प्रतिक्रिया दिनुहोस