२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

ट्रम्पको निवासनजिकै लियरजेट विमान दुर्घटना, विमानमा सवार नौ जनाकै मृत्यु

सोमवार, कार्तिक १७ २०८३०४:३८

पाम बिच (अमेरिका), रासस/एएफपी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार–ए–लागोबाट करिब ११ किलोमिटर टाढा दक्षिणी फ्लोरिडामा आइतबार लियरजेट विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ।

अमेरिकी यातायात सचिव सिन डफीले पाम बिच काउन्टीमा भएको दुर्घटनामा विमानमा सवार सबै नौ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार लियरजेट ६० विमान टेक्सासको अस्टिनबाट बहामासतर्फ उडेको थियो।

पाम बिच काउन्टीको क्रेस्टहेभननजिकै व्यस्त सडकछेउमा विमान खसेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका अप्रमाणित दृश्यमा विमान तीव्र गतिमा जमिनमा ठोक्किएपछि ठूलो आगोको मुस्लो उठेको देखिन्छ।

फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले घटनालाई विनाशकारी विमान दुर्घटनाको संज्ञा दिएका छन्। उनले घटनास्थलमा रहेका अन्य व्यक्ति घाइते भएको खबर प्राप्त नभएको बताएका छन्।

दुर्घटनाका बेला राष्ट्रपति ट्रम्प मार–ए–लागोमै थिए। उनले दुर्घटनास्थलनजिकै रहेको राष्ट्रपति डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः५५ बजे एयर फोर्स वनमार्फत प्रस्थान गरेका थिए। विमान दुर्घटना हुनुभन्दा करिब एक घण्टाअघि उनले यात्रा सुरु गरेको जनाइएको छ।

पाम बिच काउन्टीका आयुक्त जोएल फ्लोरेसका अनुसार विमान मोबाइल घरहरूको बस्तीको प्रवेशद्वारनजिकै खसेको थियो। दुर्घटनापछि त्यहाँका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाबारे अनुसन्धान गर्ने जनाएका छन्। दुर्घटनाअघि उक्त क्षेत्रमा आँधीबेहरी आएको बताइएको छ।

उडान निगरानीसम्बन्धी वेबसाइट लाइभएटीसी डट नेटमा सार्वजनिक हवाई सञ्चार अभिलेखअनुसार चालकदलले विमानमा मध्यम हावाको अशान्ति र बरफ जम्ने समस्याबारे जानकारी गराएका थिए। विमान वर्षायुक्त क्षेत्रमा प्रवेश गरिरहेको र उचाइ बढाउनुपर्ने बताएको केही समयपछि चालकदलले ‘मेडे’ भन्दै आपत्कालीन सङ्केत दिएका थिए।

अभिलेखअनुसार विमान प्रतिमिनेट १० हजार फिटको गतिमा तल झरिरहेको जानकारी दिइएको थियो। केही सेकेन्डपछि झर्ने गति प्रतिमिनेट २० हजार फिट पुगेको उल्लेख गर्दै चालकदलले आपत्कालीन अवस्था घोषणा गरेका थिए। सम्पर्क टुट्नुअघि चालकदलका एक सदस्यले विमान जमिनतर्फ खसिरहेको बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij