२०८३, कार्तिक २९ गते

शनिवार, कार्तिक २९ गते २०८३

लोकतन्त्रमाथि प्रहार भए कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री पौडेल

शुक्रवार, कार्तिक २८ २०८३१२:१०

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने बताएका हुन् ।

पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुने विषयमै अन्योल सिर्जना भएको भन्दै सरकारले निर्वाचनप्रतिको आफ्नो तयारी र प्रतिबद्धता स्पष्ट पार्नुपर्ने बताए । निर्धारित समयमा निर्वाचन नगराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उनको भनाइ थियो ।

स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने सोच सरकारको भए संविधान संशोधन आवश्यक पर्ने उनले बताए । तर, यस विषयमा सरकारले कुनै ठोस गृहकार्य नगरेको उनको आरोप छ ।

‘सरकारले स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन गर्न कुनै ठोस गृहकार्य गरेको देखिँदैन । बरु आगामी चैतमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने विषयमै अन्योल सिर्जना भएको छ,’ पौडेलले भने, ‘तोकिएको समयमा निर्वाचन गराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन हुन नदिनु अहिलेको प्रमुख विषय हो ।’

उनले स्वतन्त्र उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने व्यवस्था ल्याउन संविधान संशोधन आवश्यक पर्ने भए पनि सरकारले त्यसका लागि तयारी नगरेको दोहोर्‍याए । सरकारको वास्तविक योजना र उद्देश्यबारे स्पष्टता आवश्यक रहेको उनको भनाइ थियो ।

कांग्रेस तत्काल सडक आन्दोलनमा जाने पक्षमा नरहेको उल्लेख गर्दै पौडेलले सरकारको हठ र अलोकतान्त्रिक व्यवहार जारी रहे लोकतन्त्रको रक्षाका लागि जुनसुकै संघर्ष गर्न तयार रहेको बताए ।

‘नेपाली कांग्रेस अहिले सडक आन्दोलनमा जानुभन्दा पनि सरकारलाई सचेत गराउँदै शान्तिपूर्ण र विधिसम्मत ढंगले आफ्ना प्रश्न राख्ने पक्षमा छ,’ उनले भने, ‘तर लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्ने अवस्था आएमा त्यसको रक्षाका लागि आन्दोलन र अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्ने छैन ।’

सरकारले नागरिकका आवाज र असहमतिलाई सुन्नुपर्नेमा जोड दिँदै उनले सडकमा उभिएर वा अन्य माध्यमबाट आफ्ना विचार राख्न पाउने वातावरण बनाउनुपर्ने बताए ।

अझै पनि सरकारले आफ्नो कार्यशैली सच्याएर सही बाटोमा आउने विश्वास रहेको उल्लेख गर्दै पौडेलले त्यसो नभए लोकतन्त्रको रक्षाका लागि अन्य राजनीतिक शक्तिसँग सहकार्य गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij