शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार तथा साहित्यकार डा. टीकाराम पोखरेललाई प्रदान गर्ने भएको छ। दोलखाका पोखरेललाई नेपाली साहित्य, विशेषगरी कथा, लघुकथा, निबन्ध, समालोचना तथा हास्यव्यङ्ग्य विधामा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको हो।
यस पुरस्कारको अक्षयकोष व्यवस्थापन आफ्ना पितामाता डण्डपाणि र मानकुमारी धितालको स्मृति तथा सम्मानमा लघुकथाकार अम्बिका धिताल (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो। पुरस्कार आगामी मङ्सिर महिनामा विशेष कार्यक्रम आयोजना गरी समर्पण गरिने शब्दयात्रा प्रकाशनले जनाएको छ।
नेपाली साहित्यका विभिन्न विधामा निरन्तर सक्रिय पोखरेल सिर्जनात्मक लेखनसँगै साहित्यिक अध्ययन, अनुसन्धान र समालोचनामा समेत स्थापित नाम हुनुहुन्छ। कथा, निबन्ध, समालोचना, हास्यव्यङ्ग्य तथा समसामयिक विषयमा कलम चलाउँदै आउनुभएका उहाँका रचनामा सामाजिक जीवन, मानवीय संवेदना, समसामयिक विसङ्गति र सामाजिक यथार्थका विषयले विशेष स्थान पाउने गरेका छन्।
विद्यावारिधि (नेपाली) गर्नुभएका पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा उच्च शिक्षा हासिल गर्नुभएको छ। उहाँले राजनीतिशास्त्रमा समेत स्नातकोत्तर गर्नुभएको छ। साहित्यिक सिर्जनासँगै शैक्षिक तथा बौद्धिक क्षेत्रमा समेत क्रियाशील पोखरेलले नेपाली भाषा, साहित्य र समाजका विविध पक्षलाई आफ्नो लेखनको विषय बनाउँदै आउनुभएको छ।
उहाँका प्रकाशित कृतिहरूमा ‘धोको’ कथासङ्ग्रह, ‘अन्त्यारम्भ’ कथासङ्ग्रह, ‘दोलखाको साहित्यिक रूपरेखा’, ‘सिद्धान्त, सिर्जना र समालोचना’, ‘ऐतिहासिक उपन्यास : सिद्धान्त र स्वरूप’, ‘हाइ हाइ नेपाल बन्द’ तथा ‘लोकतन्त्रमा मानव अधिकार’ लगायतका कृति रहेका छन्। कथा, समालोचना, हास्यव्यङ्ग्य, खोज तथा अनुसन्धान, मानव अधिकार र समसामयिक विषय समेटिएका उहाँका एक दर्जन हाराहारी कृति तथा विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचनाले नेपाली साहित्य र बौद्धिक विमर्शमा योगदान पुर्याएका छन्।
पोखरेलको लेखनको अर्को महत्वपूर्ण पक्ष साहित्यलाई समाज र समयसँग जोडेर हेर्ने दृष्टिकोण हो। उहाँका सिर्जनामा सामाजिक विसङ्गति, मानवीय व्यवहार, राजनीतिक चेतना, सामाजिक उत्तरदायित्व तथा जीवनका विविध अनुभूतिहरू अभिव्यक्त हुने गरेका छन्। साहित्यिक सिर्जनासँगै समालोचनात्मक लेखनमा समेत रुचि राख्ने उहाँले साहित्यका विभिन्न विधाको सैद्धान्तिक पक्ष र सिर्जनात्मक अभ्यासलाई आफ्नो अध्ययनको क्षेत्र बनाउँदै आउनुभएको छ।
साहित्यिक क्षेत्रमा सक्रिय पोखरेलले यसअघि डायमनशमशेर राणा प्रतिभा पुरस्कार, खुला राष्ट्रिय निबन्ध प्रतियोगिता पुरस्कार तथा बागमती प्रदेशस्तरीय लघुकथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ। यसैगरी बाह्रखरी कथा प्रतियोगिता, नमस्ते आधुनिक लघुकथा मञ्च, सिक्किमेली लघुकथा समाज तथा शब्द रचना साहित्य समाजद्वारा आयोजित विभिन्न साहित्यिक प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नुभएको छ। उहाँले विभिन्न साहित्यिक तथा सामाजिक सङ्घसंस्थाबाट एक दर्जनभन्दा बढी सम्मान र प्रशंसापत्रसमेत प्राप्त गर्नुभएको छ।
लघुकथा विधामा सिर्जनात्मक सक्रियता, साहित्यिक अध्ययन र निरन्तर लेखनमार्फत पहिचान बनाउनुभएका पोखरेललाई प्रदान गर्न लागिएको यो पुरस्कारले उहाँको साहित्यिक योगदानको थप मूल्याङ्कन गर्नुका साथै लघुकथा लेखनमा सक्रिय स्रष्टाहरूलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
साहित्यिक स्रष्टाको सम्मान र नेपाली साहित्यको प्रवर्द्धनलाई उद्देश्य बनाउँदै आएको शब्दयात्रा प्रकाशनले विभिन्न विधामा योगदान पुर्याउने स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ। डण्डपाणि–मानकुमारी धितालको स्मृतिमा स्थापित यस पुरस्कारले लघुकथा विधाको विकास, प्रवर्द्धन र स्रष्टाको सिर्जनात्मक यात्रालाई प्रोत्साहित गर्ने विश्वास लिइएको छ।
प्रतिक्रिया दिनुहोस