२०८३, कार्तिक २९ गते

शनिवार, कार्तिक २९ गते २०८३

इरानसँग सम्झौता आवश्यक छैन, भान्सलाई घरेलु मुद्दामा ध्यान दिन ट्रम्पको निर्देशन

शुक्रवार, कार्तिक २८ २०८३०३:०५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै सम्झौता आवश्यक नरहेको बताएका छन् । उनले इरानसँगको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासमा संलग्न उपराष्ट्रपति जेडी भान्सलाई उक्त जिम्मेवारीबाट अलग गर्दै डेमोक्रेटिक पार्टीको शासन रहेका सहर तथा राज्यमा अपराध र भ्रष्टाचार नियन्त्रणमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् ।

‘वाल स्ट्रिट जर्नल’ले भान्सले इरानका एक वरिष्ठ सुरक्षा अधिकारीसँग प्रत्यक्ष शान्तिवार्ता गर्ने सम्भावनाबारे विचार गरिरहेको समाचार प्रकाशित गरेको भोलिपल्ट ट्रम्पको यस्तो निर्देशन आएको हो । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयका लागि भान्सले इरानसँगको महँगो युद्धलाई आंशिक रूपमा दोष दिएको एक सातापछि यो निर्देशन आएको रोयटर्सले जनाएको छ ।

होर्मुज जलमार्गतर्फ संकेत गर्दै ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “हामीलाई इरानसँग सम्झौता आवश्यक छैन । ती दिन धेरै अघि बितिसके । उनीहरूको सयौँ अर्ब डलर हामीसँग छ र स्ट्रेट अफ होर्मुज पनि हाम्रो नियन्त्रणमा छ ।”

यसअघि ट्रम्पले अमेरिकी मध्यावधि निर्वाचनपछि इरान आठ महिनादेखि जारी युद्ध अन्त्य गर्न सम्झौता गर्न थप इच्छुक हुने संकेत गरेका थिए । तर, उनको प्रशासनले यस साता इरानमाथिको नाकाबन्दी र आर्थिक प्रतिबन्ध प्रभावकारी भइरहेको दाबी गर्दै थप सैन्य कारबाही वा कूटनीतिक पहल आवश्यक नरहेको संकेत दिएको छ ।

अमेरिकी सेनाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाउनुका साथै स्ट्रेट अफ होर्मुज हुँदै अन्तर्राष्ट्रिय पानीजहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रयास गरिरहेको छ ।

फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि युद्धप्रति सशंकित देखिएका भान्सले अप्रिलमा पाकिस्तानमा इरानी अधिकारीहरूसँग भएको वार्ताको नेतृत्व गरेका थिए । उक्त वार्ताबाट जुनमा समझदारीपत्र (एमओयू) बनेको थियो । त्यसले युद्ध केही समय रोके पनि केही सातामै भंग भएको थियो ।

इरानी सरकारी सञ्चारमाध्यमले गत महिनाको अन्त्यमा इरानले अमेरिकासँग वार्ता पुनः सुरु गर्न आग्रह गर्दै भान्सले पठाएको पत्र प्राप्त गरेको जनाएको थियो । तर, ट्रम्पले उपराष्ट्रपतिलाई त्यस्तो पहल गर्न आफूले निर्देशन नदिएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij