भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आफ्नो फोन ट्याप गरेको आरोप लगाएका छन् ।
इन्स्टाग्राममा सोधिएको एक प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
राहुल गान्धीलाई सोधिएको थियो, ‘मोदीले तपाईंलाई विदेशी सहयोग मिलिरहेको बताउनुहुन्छ भने तपाईंले चाहिँ मोदी विदेशी शक्तिहरूको नियन्त्रणमा रहेको आरोप लगाउनुहुन्छ । यसका प्रमाण के छन् ?’
जवाफमा राहुलले भने, ‘प्रमाण यहीँ छ, यो फोनभित्र छ । प्रधानमन्त्रीलाई थाहा छ, किनभने उनले मेरो फोन ट्याप गर्छन् ।’
उनले आमनेसामने बहस भएमा को विदेशी शक्तिको नियन्त्रणमा छ र को देशविरोधी हो भन्ने प्रमाणित हुने दाबीसमेत गरे । ‘उनी कहिलेदेखि देशविरोधी हुन् र यस्ता अन्य कैयौँ जानकारी मलाई थाहा छन्, जुन मेरो फोनमा सुरक्षित छन्,’ उनले भने ।
राहुल गान्धीको आरोपबारे प्रधानमन्त्री मोदी वा प्रधानमन्त्री कार्यालयबाट हालसम्म कुनै प्रतिक्रिया नआएको बीबीसी हिन्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस