महोत्तरीको मटिहानी नगरपालिकास्थित बिग्ही नदी किनारमा झण्डै दुई किलोमिटर लामो छठ घाट तयार भएको छ । नेपाल र भारतका नागरिकले संयुक्त रूपमा छठ पर्व मनाउने यो घाट दुवै देशबीचको सांस्कृतिक सम्बन्धको उदाहरण बनेको छ ।
सांस्कृतिक परम्पराले एक सूत्रमा बाँधिएका दुवै देशका नागरिकले आपसी सद्भाव र मेलमिलापका साथ पर्व मनाउने गरेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।
बिग्ही नदीको दुवै किनारमा फैलिएको यो संयुक्त घाटमा नेपालतर्फ महोत्तरीको मटिहानी र धनुषाको तुलसीयाही तथा भारततर्फ मधवापुर र रामपुरका व्रतालु सहभागी हुने गरेका छन् ।
“सीमाले दुई देश छुट्याए पनि दुवै देशका सांस्कृतिक सम्बन्ध प्रगाढ छन् । छठ नेपाल र भारतका नागरिकले एउटै घाटमा मनाउने संस्कृति हामीले बसालेका छौँ,” नगरप्रमुख मण्डलले भने, “यो आपसी प्रगाढ सम्बन्धको अनुपम दृष्टान्त हो ।”
उनका अनुसार घाट निर्माणमा लाग्ने खर्चमा पनि दुवै देशका नागरिकको समान सहभागिता रहने गरेको छ ।
भारतको मधुवनी जिल्लास्थित मधवापुर ग्रामपञ्चायतका सरपञ्च बलराम झाले राष्ट्रिय सीमाले छुट्याए पनि दुवै देशका नागरिकको भाषा, संस्कृति र परम्परा साझा रहेको बताए ।
नेपाली भाषामै कुराकानी गर्दै झाले भने, “दशगजाले हाम्रो राष्ट्रियता छुट्याएको छ, तर हाम्रा भाषा, संस्कृति, परम्परा र चाडबाड साझा छन् ।” मानवीय संवेदना र सांस्कृतिक परम्पराका विषयमा नेपाली र भारतीय भनेर छुट्याउने अवस्था नरहेको उनको भनाइ छ ।
नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दाले केही वर्षयता बिग्ही घाटमा सँगसँगै छठ पर्व मनाउँदै आएका छन् । यसले दुवै देशका नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै आपसी सुखदुःखमा समेत साथ दिने संस्कृतिको विकास गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायण लाल कर्णले बताए ।
यस संयुक्त छठ घाटमा दुवैतर्फका कलाकारले मिलेर सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने गरेका छन् । स्थानीयका अनुसार छठ पर्व यस क्षेत्रका नागरिकबीच सांस्कृतिक एकता र आपसी सद्भाव अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बन्दै आएको छ ।
चारदिने महापर्व छठ यसपटक शुक्रबार ‘नहाय–खाय’ विधिसँगै सुरु भएको छ । शनिबार खरना, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने सन्ध्या अर्घ्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर पारन गरेसँगै पर्व समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस