मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको प्रतीक्षामा छन् । गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलोसमेत बलेको छैन ।
छठ पर्व मनाउन काठमाडौंँबाट सर्लाही आउँदै गरेको माइक्रोबस बिहीबार (कात्तिक २६) बिहान करिब ६ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनामा परेको थियो । सडकबाट करिब ५०० मिटर तल खसेको उक्त गाडीमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो ।
दुर्घटनाको खबर पाएदेखि नै मृतकका परिवार शोकमा छन् । छठ मनाउन घर फर्कने तयारीमा रहेका आफन्तको मृत्यु भएपछि सुन्दरपुरको पर्वको उत्साह एकाएक शोकमा परिणत भएको छ । छठघाट निर्माण, गाउँघर सरसफाइ र पाहुनालाई निम्तो दिने चटारोमा रहेको गाउँ अहिले सुनसान बनेको छ ।
छठ मनाउन घर फर्कंदै गर्दा बाबुआमा गुमाए दुई बालकले
दुर्घटनामा छोरा र बुहारी गुमाएका प्रमोद यादवका अनुसार बुधबार (कात्तिक २५) साँझ छोरा गुड्डु यादवले गाउँमा छठ मनाउन साथीभाइसँगै परिवार भोलिपल्ट घर आउन लागेको जानकारी गराएका थिए । तर, भोलिपल्ट बिहानै दुर्घटनाको खबरले परिवारमा बज्रपात परेको उनले बताए ।
गुड्डु र उनकी श्रीमती गायत्री देवीका दुई छोरा सक्षम र सुजन पनि सोही गाडीमा सवार थिए । दुर्घटनामा पाँच वर्षीय सक्षम बाँच्न सफल भएका छन् । दुर्घटनाका क्रममा बुवाले आफूलाई गाडीबाट बाहिर फ्याँकेको र त्यसपछि अरू कसैले सडकमा ल्याएकोसम्म सम्झना रहेको सक्षमले बताए ।
शरीरमा चोटपटक लिएर घर फर्किएका सक्षमलाई दुर्घटनामा आमाबुवाको मृत्यु भएको जानकारी दिइएको छैन । अर्का छोरा सुजनको टाउको र मुखमा चोट लागेकाले काठमाडौंमा उपचार भइरहेको छ ।
भक्तपुरको इमाडोल आसपासमा ठेलामा तरकारी बेचेर गुड्डु र गायत्रीले दुई छोराको पालनपोषण गर्दै आएका थिए । दुर्घटनामा आमाबुवा गुमाएपछि दुवै बालक अभिभावकविहीन भएका छन् ।
एउटै परिवारका ६ जनाको मृत्यु
दुर्घटनामा चक्रघट्टा–४, सुन्दरपुरका एकै परिवारका छ जनाको मृत्यु भएको छ । अवधेश यादवकी श्रीमती ३५ वर्षीया पुनम, छोरीहरू १० वर्षीया अनुकुमारी, सात वर्षीया दीक्षा र पाँच वर्षीया दीपिका तथा भाइहरू निकेश र सुधेश यादवको ज्यान गएको हो ।
अवधेश र पुनमका १४ महिनाका छोरा सुदीपको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, दुर्घटनामा निरशु यादवका छोरा ४० वर्षीय राकेश राय र नाति १८ वर्षीय रोहन रायको पनि मृत्यु भएको छ । सोही गाउँका अमिरी रायका छोरा २५ वर्षीय रामप्रवेश यादव, चन्देश्वर रायका छोरा २५ वर्षीय सुवोध राय र निरश रायका छोरा २५ वर्षीय रामदुलार रायले पनि ज्यान गुमाएका छन् ।
दुर्घटनामा सवारीचालक सर्लाहीको कविलासीका ३० वर्षीय रविशंकरकुमार मण्डलको समेत मृत्यु भएको छ ।
एकै परिवारका छ जनाको मृत्यु भएपछि आफन्त निर्मलाको अवस्था सम्हालिनसक्नु भएको छ । उनी पटक–पटक अचेत हुने गरेको र छिमेकीले सबैको उपचार भइरहेको भन्दै सम्झाउने प्रयास गरिरहेको स्थानीय विपुलकुमारले बताए ।
१२ वर्षअघिको दुर्घटनाको पीडा पनि ताजा
मकवानपुरको दुर्घटनाले गाउँलेलाई १२ वर्षअघिको अर्को दुःखद घटनाको पनि स्मरण गराएको छ । २०७१ साल कात्तिक १८ गते मकवानपुरको चुरियामाईमा इँटा बोकेको ट्रक दुर्घटना हुँदा सर्लाहीको तत्कालीन औरही गाविसका सात जनाको मृत्यु भएको थियो । ट्रक पल्टिँदा उनीहरू इँटाले थिचिएका थिए ।
उक्त दुर्घटनामा सियाराम महतो, झगु महतो, जित पासवान, रामबली माझी, विशेष यादव, जंगीलाल महतो र नवलपुरका राजकुमार माझीको मृत्यु भएको थियो ।
स्थानीयवासीले पछिल्लो दुर्घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेका छन् । घटनालगत्तै चक्रघट्ट गाउँपालिकाका अध्यक्ष कृष्ण यादवसहितको टोली मकवानपुर पुगेको थियो । अध्यक्ष यादवले मृतकका परिवारलाई न्याय दिलाउन पहल भइरहेको बताए ।
उनका अनुसार परीक्षणपछि मृतकका शव गाउँ ल्याइनेछ । दुर्घटनामा गाउँका १३ जनाको मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक घोषणा गरेको छ । साथै, मृतकको दाहसंस्कारका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए ।
उचित राहत र न्यायको माग गर्दै शव नबुझ्ने अडान
यता, पीडित परिवारले राहतलगायत विषयमा स्पष्ट व्यवस्था नभएसम्म शव नबुझ्ने बताएका छन् । आफन्तको शव परीक्षणपछि गाउँ ल्याइने प्रतीक्षामा रहेका परिवारले न्याय र उचित राहतको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस