तिहारको सार्वजनिक बिदापछि शुक्रबार खुलेको सेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४४ अंकले घटेर २ हजार ६४८.७७ विन्दुमा झरेको हो।
सरकारले कात्तिक २२ गतेदेखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा दिएको थियो। लामो बिदापछि खुलेको बजारमा शुक्रबार ३३५ वटा कम्पनीका ७८ लाख ४४ हजार २६७ कित्ता सेयर ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार ७२५ रुपैयाँमा खरिदबिक्री भएका छन्।
यस दिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य सर्वाधिक ७.५६ प्रतिशतले बढेको छ। सामलिङ पावर कम्पनी र एसियन हाइड्रोपावरको सेयर मूल्य ५–५ प्रतिशतले बढ्दा बेनी हाइड्रोपावर प्रोजेक्ट र सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ३–३ प्रतिशतले वृद्धि भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये ११० वटाको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ। बाँकी ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्षस्थानमा रहेको छ। कम्पनीको ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सानिमा माइ हाइड्रोपावर र स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको १६–१६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। शिवम् सिमेन्टको ९ करोड र ग्लोबल आईएमई बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
यस दिन चार समूहका उपसूचकमा वृद्धि भएको छ। डेभलपमेन्ट बैंक, होटल्स एण्ड टुरिजम, हाइड्रोपावर र नन लाइफ इन्स्योरेन्स समूहका उपसूचक बढेका छन् भने बाँकी समूहका उपसूचक घटेका छन्।
प्रतिक्रिया दिनुहोस