२०८३, कार्तिक २९ गते

शनिवार, कार्तिक २९ गते २०८३

माइक्रोसफ्टका प्रमुख सेवा १२ घण्टादेखि अवरुद्ध, विश्वभरका प्रयोगकर्ता प्रभावित

शुक्रवार, कार्तिक २८ २०८३०४:४१

माइक्रोसफ्टका प्रमुख डिजिटल सेवाहरू पछिल्लो १२ घण्टादेखि अवरुद्ध हुँदा विश्वभरका करोडौँ प्रयोगकर्ता तथा विभिन्न कम्पनी प्रभावित भएका छन्। आउटलुक, टिम्स, माइक्रोसफ्ट ३६५ र कोपाइलटलगायत सेवामा समस्या आएपछि इमेल आदानप्रदान, अनलाइन बैठक तथा कार्यालयका नियमित कामकाज प्रभावित भएका हुन्।

कार्यालय समयमा आउटलुक नखुल्ने, आवश्यक इमेल प्राप्त नहुने र टिम्समार्फत बैठक गर्न नसक्ने समस्या देखिएपछि विश्वभरका प्रयोगकर्ता समस्यामा परेका छन्। माइक्रोसफ्टका एकैपटक धेरै महत्त्वपूर्ण सेवा प्रभावित हुँदा व्यावसायिक तथा सरकारी कामकाजमा समेत असर परेको छ।

सेवा अवरुद्ध भएपछि कम्पनीको प्रणालीमाथि साइबर आक्रमण भएको हो कि भन्ने प्रश्नसमेत उठेको थियो। सामाजिक सञ्जालमा ह्याकरहरूले कम्पनीको प्रणालीलाई निशाना बनाएको हुन सक्ने आशंका व्यक्त गरिएको थियो। शक्तिशाली कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल प्रयोग गरेर साइबर आक्रमण गरिएको हुन सक्ने चर्चासमेत चलेको थियो।

तर, माइक्रोसफ्टले साइबर आक्रमण वा नियोजित दुर्भावनापूर्ण गतिविधिको कुनै संकेत फेला नपरेको जनाएको छ। कम्पनीको प्रारम्भिक अनुसन्धानले समस्या आफ्नै सर्भर तथा प्राविधिक पूर्वाधारसँग सम्बन्धित रहेको देखाएको छ। अनुसन्धान पूरा भएपछि विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।

यो समस्या नोभेम्बर १२ मा सुरु भएको थियो। अमेरिकामा दिउँसोदेखि माइक्रोसफ्टका विभिन्न सेवा प्रयोग गर्न कठिनाइ भएको थियो। त्यसको असर क्रमशः अन्य देशका प्रयोगकर्तासम्म फैलिएको थियो।

सेवा अवरुद्ध भएको निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरमा आउटलुकसम्बन्धी गुनासा तीव्र रूपमा बढेका थिए। एक समय करिब एक लाख ३० हजार प्रयोगकर्ताले समस्या रिपोर्ट गरेका थिए। धेरैले इनबक्स खोल्न नसकेको तथा इमेल पठाउन र प्राप्त गर्न कठिनाइ भएको बताएका थिए।

समस्या आउटलुकमा मात्र सीमित रहेन। माइक्रोसफ्ट ३६५ अन्तर्गतका वर्ड, एक्सेल, पावरपोइन्ट, टिम्स, सेयरपोइन्ट, वनड्राइभ र एआई सहायक कोपाइलटमा समेत गडबडी देखिएको थियो। केही कम्पनी तथा सरकारी निकायको कामकाजमा पनि असर परेको थियो। जापान सरकारले समेत आफ्ना सरकारी सूचना प्रविधि प्रणाली प्रभावित भएको जनाएको थियो।

माइक्रोसफ्टका यी सेवाहरू अलग–अलग भए पनि प्राविधिक रूपमा एकअर्कासँग जोडिएका छन्। आउटलुकमा इमेल र क्यालेन्डर सञ्चालन गर्न ‘एक्सचेन्ज अनलाइन’ प्रणाली प्रयोग हुन्छ। माइक्रोसफ्ट ३६५ का अन्य सेवाका केही सुविधा पनि यससँग सम्बन्धित प्रणालीमा निर्भर हुन्छन्। त्यसैले आधारभूत प्रणालीमा समस्या आउँदा एकभन्दा बढी एप प्रभावित हुन सक्छन्।

माइक्रोसफ्टको प्रारम्भिक अपडेटअनुसार कम्पनीका विभिन्न स्थानमा रहेका प्राविधिक पूर्वाधारमा समस्या देखिएको थियो। सुरुमा कम्पनीले यसलाई नेटवर्क कनेक्टिभिटीको समस्यासँग जोडेको थियो। तर, अनुसन्धान अघि बढ्दै जाँदा समस्या ट्राफिकको चापमा मात्र सीमित नरहेको पत्ता लागेको थियो।

कम्पनीका अनुसार केही सर्भरले अचानक काम गर्न छाडेका थिए। ती सर्भर उपलब्ध नहुँदा बाँकी सर्भरमा थप भार परेको थियो। परिणामस्वरूप प्रयोगकर्ताका अनुरोध प्रशोधन गर्न कठिनाइ भएपछि इमेल तथा अन्य सेवामा पहुँच प्रभावित भएको थियो।

त्यसपछि माइक्रोसफ्टले अर्को महत्त्वपूर्ण प्राविधिक समस्या पहिचान गरेको थियो। प्रभावित सर्भरमा सुरक्षित कनेक्सन स्थापना गर्ने प्रक्रिया अपेक्षाअनुसार सञ्चालन हुन सकेको थिएन। उक्त प्रक्रियामा अत्यधिक दबाब परेपछि सर्भरहरूले प्रयोगकर्ताका अनुरोध प्रशोधन गर्न नसकेको कम्पनीले जनाएको थियो।

समस्या समाधानका लागि माइक्रोसफ्टले प्रभावित सर्भर पुनः सञ्चालनमा ल्याउने र प्रयोगकर्ताको ट्राफिक अन्य सर्भरतर्फ पठाउने प्रयास गरेको थियो। केही स्थानमा प्रभावित सर्भरमाथिको दबाब कम गर्न ट्राफिकसमेत सीमित गरिएको थियो।

कम्पनीले केही सर्भर पुनः सञ्चालनमा ल्याए पनि ती सर्भरमा ट्राफिक बढ्दा स्थिरता कायम राख्न सुरुमा कठिनाइ भएको जनाएको थियो।

नोभेम्बर १३ मा जारी अपडेटअनुसार कन्फिगरेसनसम्बन्धी प्याच लागू गरेपछि केही सर्भरको स्थिरतामा सुधार देखिएको थियो। उक्त प्याच नेटवर्क र प्रयोगकर्ताको पहिचानसँग सम्बन्धित कन्फिगरेसनमा लागू गरिएको थियो।

कम्पनीले यो सुधार अन्य प्रभावित सर्भरमा पनि विस्तार गर्ने र तिनको अवस्था निरन्तर निगरानी गर्ने जनाएको छ। विस्तृत अनुसन्धानपछि सेवा अवरुद्ध हुनुको कारणबारे थप जानकारी सार्वजनिक गर्ने माइक्रोसफ्टको तयारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij