२०८३, श्रावण ३१ गते

आइतवार, श्रावण ३१ गते २०८३

इरानी धम्कीपछि ट्रम्पलाई ‘एयर फोर्स वान’बाट गोप्य रूपमा अर्को विमानमा सारिएको दाबी

मंगलवार, श्रावण २६ २०८३०१:००

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानबाट आउन सक्ने सम्भावित सुरक्षा जोखिमका कारण टर्कीको अंकाराबाट अमेरिका फर्कने क्रममा गोप्य रूपमा अर्को सैन्य विमानमा सारिएको खुलासा भएको छ।

अमेरिकी सञ्चारमाध्यम ‘द वाशिंगटन पोस्ट’ को रिपोर्टअनुसार, गत महिना अंकारामा सम्पन्न नेटो शिखर सम्मेलनपछि ट्रम्पलाई नियमित ‘एयर फोर्स वान’ बाट यात्रा गरिरहेको देखाएर बीच बाटोमै अर्को सैन्य विमानमा सारिएको थियो। यद्यपि, उक्त विवरणको स्वतन्त्र पुष्टि भने भएको छैन।

रिपोर्टअनुसार, ट्रम्प अंकाराबाट उड्ने क्रममा पत्रकार तथा ह्वाइट हाउसका केही कर्मचारीलाई आफू पुरानै ‘एयर फोर्स वान’ विमानमा यात्रा गरिरहेको विश्वास दिलाइएको थियो। तर विमान उडेको केही मिनेटपछि उनलाई गोप्य रूपमा एयर फोर्स सी–३२ए मा सारिएको दाबी गरिएको छ।

यसका लागि विमानस्थलमा सामान्यतया विमानमा खाना तथा अन्य सामग्री ओसारपसार गर्न प्रयोग हुने क्याटरिङ ट्रक प्रयोग गरिएको बताइएको छ। ट्रकलाई एयर फोर्स वानको ढोकासम्म पुर्‍याएर हाइड्रोलिक प्रणालीमार्फत माथि उठाइएको र त्यही माध्यमबाट ट्रम्प तथा उनका केही सहयोगीलाई अर्को विमानमा स्थानान्तरण गरिएको रिपोर्टमा उल्लेख छ।

पत्रकारलाई समेत भ्रममा राखिएको दाबी

ट्रम्पसँगै यात्रा गरिरहेको विश्वास गरेका पत्रकारहरूको समूहलाई विमान उड्नुअघि झ्यालका पर्दा तल राख्न भनिएको थियो। त्यसपछि पुरानो एयर फोर्स वान बेलायतको रोयल एयर फोर्स मिल्डेनहलतर्फ उडेको देखाइएको थियो।

मिल्डेनहल पुगेपछि ट्रम्प पुरानो एयर फोर्स वानबाट ओर्लिएको दृश्यसमेत सार्वजनिक गरिएको थियो। यसबाट उनी सोही विमानमा यात्रा गरेर बेलायत पुगेको भ्रम कायम राखिएको रिपोर्टमा उल्लेख छ।

तर वास्तविकतामा ट्रम्प भने सानो सैन्य विमान सी–३२एमार्फत मिल्डेनहल पुगेको दाबी गरिएको छ।

मिल्डेनहलमा केही समय बिताएपछि ट्रम्प पुनः नयाँ ‘एयर फोर्स वान’ विमानमा चढेर वाशिंगटनतर्फ फर्किएका थिए।

इरानी धम्कीका कारण सुरक्षा सतर्कता बढाइएको दाबी

ट्रम्पमाथि इरानबाट ज्यान मार्ने धम्की आएको र त्यसका कारण अमेरिकी सुरक्षा अधिकारीहरूले राष्ट्रपतिको यात्रालाई लिएर विशेष सावधानी अपनाएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

‘द वाशिंगटन पोस्ट’ले आफ्नो रिपोर्ट तयार पार्दा विभिन्न सामग्रीको अध्ययनसँगै घटनाबारे जानकारी भएका एक अमेरिकी अधिकारी र राष्ट्रपतिको यात्राबारे जानकारी राख्ने अर्का व्यक्तिको भनाइलाई आधार बनाएको जनाएको छ।

यसअघि ‘द न्युयोर्क टाइम्स’ र ‘सीबीएस न्युज’ ले पनि अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्प तथा उनको विमानमाथि सम्भावित आक्रमणको खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेको रिपोर्ट गरेका थिए।

ट्रम्प अंकारा पुगेका बेला कतारले उपहारस्वरूप दिएको नयाँ विमान प्रयोग गरेका थिए। उक्त विमानलाई रातो, सेतो र निलो रङमा परिमार्जन गरिएको थियो।

तर अंकाराबाट अमेरिका फर्कने क्रममा सोही नयाँ विमान प्रयोग नगरी पुरानो ‘एयर फोर्स वान’ र त्यसपछि सी–३२ए प्रयोग गरिएको घटनाले कतारले दिएको विमानको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।

ट्रम्पले यसअघि उक्त नयाँ विमानमा थप सुरक्षा सुधार गरिने बताएका थिए। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीवन चेउङले भने कतारबाट प्राप्त विमान राष्ट्रपति तथा उनका कर्मचारीको सुरक्षा सुनिश्चित गर्ने अत्याधुनिक सुरक्षा प्रविधिले सुसज्जित रहेको बताएका छन्।

ट्रम्पलाई एउटा विमानबाट अर्को विमानमा गोप्य रूपमा सारिएको विषयमा सोधिएको प्रश्नमा ह्वाइट हाउसले घटनाको सीधा पुष्टि वा खण्डन गरेन।

चेउङले विज्ञप्तिमार्फत राष्ट्रपतिका धेरै शत्रु रहेको र उनीमाथि खतरा रहेको उल्लेख गर्दै त्यस्ता जोखिम सामना गर्न प्रशासनले आवश्यक सबै उपाय अपनाउने बताएका छन्।

अमेरिकी सेक्रेट सर्भिसले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ। राष्ट्रपतिको विमानको व्यवस्थापन तथा मर्मतसम्बन्धी जिम्मेवारी रहेको अमेरिकी वायुसेनाले पनि प्रश्न ह्वाइट हाउसतर्फ पठाएको बताइएको छ।

सेक्रेट सर्भिसका पूर्वविशेष एजेन्ट पल एकलोफले राष्ट्रपतिलाई यसरी गोप्य रूपमा अर्को विमानमा सार्नु सामान्य सुरक्षा अभ्यास नभएको बताएका छन्।

उनका अनुसार यस्तो कदम पूर्ण रूपमा अभूतपूर्व नभए पनि असामान्य र गम्भीर सुरक्षा सावधानी भने हो।

यसैबीच डेमोक्र्याटिक सिनेटर रिचर्ड ब्लुमेन्थलले घटनाबारे संसदबाट छानबिन हुनुपर्ने माग गरेका छन्। उनले घटनालाई अत्यन्तै गम्भीर र चिन्ताजनक बताएका छन्।

‘म सधैं खतरामा छु’– ट्रम्प

मिल्डेनहलबाट वाशिंगटन फर्कने क्रममा नयाँ एयर फोर्स वानमा रहेका पत्रकारहरूले ट्रम्पलाई इरानबाट विमानमाथि कुनै विशेष खतरा रहेको छ कि छैन भनेर प्रश्न गरेका थिए।

जवाफमा ट्रम्पले आफू सधैं जोखिममा रहेको बताउँदै इरानको ‘हिट लिस्ट’मा आफू पत्रकारहरूभन्दा अगाडि रहेको दाबी गरेका थिए।

यसअघि नेटो शिखर सम्मेलनका क्रममा पनि ट्रम्पले आफू इरानको ‘नम्बर एक लक्ष्य’ रहेको बताएका थिए।

राष्ट्रपतिको सुरक्षा योजनासम्बन्धी यस्तो संवेदनशील विवरण सार्वजनिक भएपछि अमेरिकी प्रशासनका केही अधिकारी भने असन्तुष्ट देखिएका छन्। उनीहरूले यस्ता गोप्य सुरक्षा रणनीति बाहिर आउँदा भविष्यमा राष्ट्रपतिको सुरक्षामा थप चुनौती सिर्जना हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij