काठमाडौं । असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो तथा विपद्पछि सरकारले उद्धार, राहत र सडक सञ्चालनलाई तीव्रता दिएको छ। सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह र स्थानीयवासीको समन्वयात्मक प्रयासपछि काठमाडौं जोड्ने प्रमुख राजमार्गहरू क्रमशः सञ्चालनमा आएका छन्।
बाढीपहिरोका कारण सडक सञ्जाल अस्तव्यस्त बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह र स्थानीयवासीको संयुक्त परिचालन गरी दिनरात पहिरो पन्छाउने तथा अवरुद्ध सडक खुलाउने कामलाई प्राथमिकता दिइएको थियो।
सरकारी निकायको सक्रिय व्यवस्थापन र भारी उपकरणको निरन्तर प्रयोगका कारण मंगलबार बिहानसम्म पृथ्वी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडकखण्ड पुनः सञ्चालनमा आएका छन्। बीपी राजमार्गका केही खण्डबाहेक अधिकांश स्थानमा पनि यातायात सञ्चालनमा आइसकेको जनाइएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोटदेखि डेढगाउँसम्म हलुका तथा यात्रुवाहक सवारीसाधन सञ्चालनमा आएका छन्। रामपुर–डेढगाउँ–भिमाद सडकखण्ड पनि बुधबारसम्म सञ्चालनमा आउने सम्भावना रहेको जनाइएको छ। डेढगाउँस्थित कालीगण्डकी नदीको पुलको दुवैतर्फ बगेको सडक तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको नवलपुर–२ का सांसद मनिष खनालले बताएका छन्।
सडक सञ्चालनसँगै सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले विशेष सतर्कता अपनाएको छ। अधिकांश स्थानमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि जोखिमयुक्त खण्डमा एकतर्फी सवारी सञ्चालन गराइएको छ।
त्यसैगरी, रातिको समयमा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै सिद्धिचरण लोकमार्ग, मध्यपहाडी लोकमार्गको भोजपुर खण्ड तथा टोखा–छहरे सडकमा रात्रिकालीन आवागमन रोकिएको छ। प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
विपद्का कारण गण्डकी प्रदेशमा २०, लुम्बिनीमा ५, बागमतीमा ३, कर्णालीमा २ र मधेस प्रदेशमा १ गरी हालसम्म ३१ जनाको मृत्यु भएको छ। घटनामा ८ जना घाइते भएका छन् भने १२ जना अझै बेपत्ता रहेको जनाइएको छ। उद्धार टोलीले हालसम्म १ हजार ६ सय ४ जनाको सकुशल उद्धार गरेको छ।
बाढीपहिरोका कारण विस्थापित भएका २ हजार ३ सय २२ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, राहत सामग्री वितरण गर्ने तथा पहिरोमा पुरिएका धनमाल निकाल्ने कार्यमा सुरक्षाकर्मीहरू अहोरात्र खटिएका छन्। बागलुङमा पछिल्लो बाढीमा ज्यान गुमाएका १२ जनासहित प्रभावित क्षेत्रका नागरिकलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत राहत सामग्री उपलब्ध गराएको छ।
बाढीपहिरोका कारण १६८ घर, ४ वटा पुललगायत विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस