झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटबाट तीन महिनाको शिशुको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार असोज २३ गते दिउँसो करिब १:२० बजे शिविरको सेक्टर डी–२ मा मनबहादुर तामाङको परिवारमा घरायसी विषयलाई लिएर विवाद भएको थियो।
विवादका क्रममा ६८ वर्षीय मनबहादुर तामाङ, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बा सिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारतीबीच झैँझगडा भएको थियो।
सोही क्रममा मनबहादुरले बुहारी बिमलामाथि कुटपिट गर्दा उनको काखमा रहेका तीन महिनाका छोरा सामेल तामाङलाई भित्री चोट लागेको प्रहरीले जनाएको छ।
घाइते शिशुलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। तर, दिउँसो २:०५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनापछि प्रहरीले मनबहादुर, आशा, फुर्बा सिंह र बिमलालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस