नयाँ दिल्ली । भारतको दिल्ली विमानस्थलबाट ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपकेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पार्टीका संस्थापक अभिजित दीपके, सहसंयोजक आशुतोष रान्का र सौरभ दास रहेका छन्।
पक्राउ पर्नुअघि अभिजित दीपकेले आफू गिरफ्तारीदेखि नडराएको र त्यसका लागि तयार रहेको बताएका थिए। उनले भारतको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रहरीको कदमलाई तानाशाहीको संज्ञा दिएका छन्।
‘तपाईंले यो देश कुन दिशामा जाँदैछ भनेर देख्न सक्नुहुन्छ। हामीलाई उडानमै हिरासतमा लिइँदै छ। इन्दिरा गान्धीले पनि कहिल्यै यस्तो गरिनन्। यो तानाशाही हो, तर हामी तिमीहरूसँग डराउँदैनौँ,’ दीपकेले भने।
प्रहरी अधिकारीहरूसँग उनले आफू गिरफ्तारीदेखि नडराएको दोहोर्याउँदै भने, ‘म तिमीहरूसँग डराएको छैनँ, हामी पक्राउका लागि तयार छौँ।’
तीनै जनालाई पक्राउ गर्न सुरुमा महिला प्रहरी अधिकारी पुगेका थिए। त्यसपछि दीपके र उनका साथीहरूले पुरुष प्रहरी अधिकारी पठाउन माग गरेका थिए।
उनीहरूलाई पक्राउ गर्नुको कारण र त्यसपछिको कानुनी प्रक्रियाबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।
प्रतिक्रिया दिनुहोस