२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

काठमाडौँ महानगरद्वारा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूलका लागि ३३ स्थान तोकियो

बुधवार, कार्तिक १९ २०८३०२:११

काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा सजावटका सामग्रीको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै महानगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा पुष्पगुच्छाको बिक्री वितरण, भण्डारण र प्रयोग गर्न निषेध गरिएको जनाएको हो।

दीपावली तथा तिहारलाई लक्षित गर्दै महानगरपालिकाले स्वदेशी फूलको बिक्री प्रवर्द्धन गर्न आफ्नो क्षेत्रभित्रका ३३ स्थानमा बिक्री केन्द्र तोकेको छ। वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले छुट्टाछुट्टै सूचना जारी गरी यसबारे जानकारी गराएका हुन्।

विभागका अनुसार नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) बमोजिम प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएको छ। काठमाडौँ महानगरपालिकाले पनि विगतका वर्षदेखि नै यस्ता सामग्रीको कारोबार तथा प्रयोग निषेध गर्दै आएको छ।

महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमालाको प्रयोगबाट वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्दै स्वदेशी फूल तथा मालाको प्रयोगलाई प्राथमिकता दिन महानगरवासीलाई आग्रह गरेको छ।

प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य फूलमाला आयात, बिक्री वितरण, भण्डारण वा सजावटमा प्रयोग गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ। साथै, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र प्रचलित आर्थिक ऐनबमोजिम कारबाही गरिने महानगरले जनाएको छ।

महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेका फूललाई बजार उपलब्ध गराउने र उपभोक्तालाई स्वदेशी उत्पादनसम्म सहज पहुँच पुर्‍याउने उद्देश्यले ३३ स्थानमा बिक्री केन्द्र तोकेको हो।

महानगरपालिकाले २०८० सालदेखि तिहारका अवसरमा स्वदेशी फूल बिक्रीका लागि निश्चित स्थान उपलब्ध गराउँदै आएको छ। यस व्यवस्थाले नेपाली उत्पादनको पहिचान स्थापित गर्नुका साथै स्थानीय किसानलाई बजार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस वर्ष लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्मचक्र पार्क, कालीमाटी ब्याङ्क्वेट, कालीमाटीको द्यौखेल, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर, माछापोखरीको बुद्ध मल, गुणस्तर तथा नापतौल विभागतर्फको पहिलो भागलगायत स्थानमा फूल बिक्री गर्न पाइनेछ।

त्यस्तै, हाँडीगाउँका विभिन्न स्थान, वडा नं. २६ को कोइराला स्मार्ट, महाराजगन्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, चप्पल कारखानाको बिगमार्ट, बालुवाटारको बिगमार्टसँगै तीनकुने र सिफल चौरमा पनि स्वदेशी फूल बिक्रीका लागि स्थान उपलब्ध गराइएको छ।

तोकिएका स्थानमा फूल बिक्री गर्ने किसान तथा व्यवसायीलाई व्यवस्थापनमा सहजीकरण गर्न महानगर प्रहरी बलले सहयोग गर्नेछ।

तिहारका बेला घर, मठमन्दिर तथा सार्वजनिक स्थल सजाउन फूलको माग बढ्ने गर्छ। यस्तो मागलाई स्वदेशी उत्पादनबाटै धान्ने र नेपाली किसानले उत्पादन गरेका फूललाई उचित बजार उपलब्ध गराउने महानगरपालिकाको उद्देश्य छ।

नेपालमा भारत, नेदरल्यान्ड्स, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्डलगायत विभिन्न देशबाट फूल तथा पुष्पजन्य सामग्री आयात हुँदै आएको छ। आयातित फूलसँग स्वदेशी उत्पादनको प्रतिस्पर्धा सहज बनाउन महानगरले बिक्री केन्द्रको व्यवस्था गर्दै आएको हो।

तोकिएका बिक्री स्थलसम्बन्धी थप जानकारी तथा सहजीकरणका लागि महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार ०१–५९०१७६३, ०१–५९०१७६४ र ९८५१३५६५०९ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

महानगरपालिकाले तिहारमा स्वदेशी फूलको प्रयोग बढाउन र वातावरण संरक्षणमा सहयोग पुर्‍याउन सबै महानगरवासीलाई आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij