सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका बहालवाला महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताएका छन्।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको र नयाँ प्रहरी महानिरीक्षक नियुक्त भइसकेकाले यसलाई सामान्य जिम्मेवारी हेरफेरका रूपमा बुझ्नुपर्ने स्पष्ट पारे।
मन्त्रिपरिषद् बैठकले यसअघिका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको थियो।
‘बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाही गरिएको रूपमा बुझ्नु हुँदैन। उहाँलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिइएको छ। नयाँ आईजीपी आउनुभएको छ,’ मन्त्री पोखरेलले भने।
यसैबीच, बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले दुई दिन मोबाइल लगेको भन्ने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री पोखरेलले आफूलाई यसबारे जानकारी नभएको बताए।
उनले उक्त विषय बाहिर आएको हल्ला मात्र भएको उल्लेख गर्दै त्यस्तो घटना भएको भए सम्बन्धित निकायले अनुसन्धान गर्ने बताए।
‘इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले लगेको कुरा हामीलाई जानकारी छैन। बाहिर आएको हल्ला हो। यदि रहेछ भने सम्बन्धित निकायले अनुसन्धान गर्छ,’ उनले भने।
सरकारले पूर्वआईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिँदै डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस